पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा दुइमहिना अगाडि सम्पन्न भएको गौमहोत्सवको आय– व्यय सार्वजनिक गरिएको छ । शनिबार धाइरिङको गौशालामा सरोकारवालाहरुको वैठक मार्फत गौमहोत्सव मुल आयोजक समितिले आय– व्यय सार्वजनिक गरेको हो ।

महोत्सवमा कुल संकलन भएको ३ करोड ६३ लाख ३० हजार ९ सय ३१ र ८० लाख ८ हजार ९ सय २२ रुपैयाँ खर्च भएको महोत्सव मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो । मंसिरको २८ गते सम्पन्न भएको महोत्सवमा एक करोड ५५ लाख ४ हजार एकसय ३१ रुपैयाँ नगद संकलन भएको महासचिव आचार्यले बताउनुभयो ।

उहाँका अनुसार २ करोड ११ लाख २६ हजार आठ सय रुपैयाँ उठन बाँकी रहेको छ ।
स्थानीय तह र जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेको ठूलो रकम उठन बाँकी देखिएको छ । भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता अनुसार गौशालामा पूर्वाधार निर्माणमा उक्त रकम प्राप्त हुने गौशालाका अध्यक्ष राजु आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

बाँकी रहेको व्यक्तिको हकमा बोल रकम बुझाउन समितिले दानविरहरुलाई अनुरोध गरेको उहाँले बताउनुभयो । गौमहोत्सव सफल रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सवै पक्षहरुलाई आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

वैठकले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न डिपिआर तयार गर्ने निर्णय गरेको छ । गौशालामा भौतिक पूर्वाधारको निर्माणलाई तिव्रता दिने अध्यक्ष आचार्यले बताउनुभयो । महोत्सवबाट संकलन भएको रकमलाई गौशालाको विकासमा खर्चिने उहाँले बताउनुभयो ।

वैदिक गाईको संरक्षण गरी धार्मिक धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको आयोजना गरिएको थियो । गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको हो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा महोत्सव आयोजना गरिएको थियो । महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंसिर १९ गते महोत्सवको उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply