बेनी नगरपालीकाले नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी बजेटलाई प्राथमिकता दिने भएको छ । सोमबार छैँठौ नगरसभामा जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई पारदर्शी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ ।

नगरसभामा चालु आर्थिक वर्षमा नगरपालिकाबाट संचालित आयोजनाहरूको अवस्था विश्लेषण,संघीय सरकारबाट प्राप्त अनुदान, नगरपालिकाको संचित कोष, योजनाहरुको संशोधन, नगर सडक मापदण्डको विषयमा छलफल गरिएको मेयर हरिकुमार श्रेष्ठले बताए । उनले नगरपालिका भित्रका नियमित योजना बाहेक पर्यटकीय तथा धार्मिकस्थलहरुमा पूर्वाधार विस्तार गरी पर्यटकीय हबको रुपमा विकास गर्ने बताए ।उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालनमा प्राथमिकता दिएको बताए ।

उनले विगतमा प्रस्तुत गरिएको रामायण पार्क लगायतका दिर्घकालिन महत्वका योजनाहरू प्राथमिकतामा रहेको बताए । नगरसभामा संघिय सरकारबाट आएको अनुदान स्वरुप कोल्डस्टोरको लागि १ करोड, पात्लेखेत–काछलुङ लिफ्टिङ सिस्टम र बेनी स्टेडियम खुल्लामञ्चको १ करोड नगरसभाबाट स्विकृत गरिएको छ ।

त्यस्तै नगरपालिका संचित कोषबाट डम्मरा हुदै सिमखेत मोटरबाटोका लागि ५ लाख, ज्यामरुककोटको वाङ्गेरा हुदैँ दारिमपाटा सडकको लागि ५ लाख, अध्ययन परामर्श शिर्षकमा ६० लाख र फोहोर ब्यवस्थापनको १५ लाख रुपैया विनियोजन गर्दै स्विकृत गरिएको बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाले बताए ।उनका अनुसार नगरसभाबाट स्वीकृत योजनाहरु संशोधनग गरी विभिन्न योजनाहरुमा विनियोजित बजेट स्वीकृत गरिएको छ ।

बेनी–दरवाङ सडक खण्डको बेनी सामुदायिक विद्यालय देखि भ्याउने खोला सम्मको क्षेत्रमा बजार क्षेत्रमा तोकिएको सडक मापदण्ड २०७४ अनुसारको निणयलाई कार्यान्वयन गरिने छ । विकास योजनाहरुलाई पारदर्शी, गुणस्तरीय र दिगो तथा जनसहभागितामुलक बनाउन जनप्रतिनिधि तथा कर्मचारीहरुविच सहजिकरण गर्दै अनुुगमनमा ध्यान दिनुपर्ने नगरसभाका सदस्यहरुले जोड दिएका थिए । नगरसभामा उपमेयर सञ्जु बरुवाल, १० वटै वडाका अध्यक्ष, नगरसभा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply