अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पेन्टिङमार्फत म्याग्दी चिनाउने अभियान, टोड्केमा लाइभ पेन्टिङ हुने

On: February 11, 2020 8:43 PM
Follow Us:

नजिकै धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरि लगायत मनोरम हिमशृंखला, विभिन्न चराचुरुंगीको चिरबिर चिरबिर आवाज, राताम्य भएर फूल्ने तरखर्कमा लालीगुराँस, पहाडको टुप्पोमा बस्ती, बस्ती नजिकै स्वर्गद्वारी आश्रम र मनमोहक ग्रामीण भेगको दृश्यावलोकन गर्न सकिने पर्यटकीयस्थल टोड्के ।

मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्केबाट देखिने सुन्दरतालाई म्याग्दीका चित्रकारले लाइभ पेन्टिङ गर्ने भएका छन् । टोड्केको अग्लो ठाउँमा पुगेर लाइभ पेन्टिङको तयारी भइरहेको छ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गरी साविकको धौलागिरी अञ्चलमै पहिलोपटक ग्लोरी फाइन आर्ट गु्रपले पेन्टिङ मार्फत म्याग्दी चिनाउने अभियान अन्तरगत आगामी फागुन १७ गते लाइभ पेन्टिङ आयोजना गर्ने समुहका संयोजक यूवा चित्रकार सुरेन्द्र रानाले बताए । ‘यो हाम्रो पहिलो प्रयास हो,‘टोड्केबाट नयाँ अभियानको सन्देश दिन्छौ’ संयोजक रानाले भने ।

उनले यूवापुस्तालाई पेन्टिङमा आर्कषित गर्ने गरी ब्यवसायीक रुपमै पेन्टिङमा सक्रिय भएका यूवाहरुले सञ्जाल गठन गरेको बताए। उनले म्याग्दीको प्राकृतिक सौन्दर्यतालाई पेन्टिङमार्फत प्रचारप्रसारको अभियानलाई समेत सघाउने बताए ।

समुन्द्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केको लाइभ पेन्टिङमा सहभागिताको लागि अपिल समेत गरिएको छ । समुहका अर्का सदस्य अमृत सिर्पालीका अनुसार हालसम्म ८ जनाले सहभागीता जनाउने निश्चित भएको बताए । उनका अनुसार करिव २० जनालाई टोड्केको लाइभ पेन्टिङमा सहभागी बनाउने प्रयास रहेको बताए ।

समुहले पेन्टिङ सिक्न चाहनेलाई तालिम तथा अवसर सहित प्रतियोगितामा समेत सहभागी हुने गरी भविस्यमा कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । लाइभ पेन्टिङमा चित्रकलामा प्रवेश गर्न चाहनेलाई समेत सहभागीता हुने ब्यवस्था गरिएको छ । टोड्को पेन्टिङलाई प्रर्दशनी तथा विक्री गरी संस्थागत गतिविधिमा खर्च गरिने आयोजकले जनाएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।