जापानबाट एक कृषि परियोजनामा काम गर्न म्याग्दीमा करिव डेढ बर्ष विताएका जापानी नागरिक शुन्य आवामुराले परियोजनाको काम सकिएपनि म्याग्दीमै छन्। सामुदायिक बिकाश तथा हरियली आयोजनामा समुदायसँग काम गरेका आवामुराले आयआर्जन, कृषि प्रविधिसँगै समुदायमा आधारित धेरै गतिविधिमा समुदायलाई आफ्नो अनुभव तथा सीप हस्तान्तरण गर्न सफल भए।

करिव १६ महिनाको अवधिमा कृषिमा काम गरेका आवामुरा परियोजनाको समय सकिएपनि म्याग्दीलाई छोड्न सकेका छैनन्। उनले परियोजनामा काम गर्ने क्रममा जिल्लाभित्र भेटिएका तातोपानी कुण्डमा लोभिएका छन्।  प्राकृतिक रुपमा जमिनमुनीबाट आउने तातोपानीले आवामुराको जापान यात्रालाई केहीसमय स्थगित मात्रै गरेको छैन् म्याग्दीका तातोपानीको प्रचार–प्रसार तथा आवश्यक पूर्वाधार विस्तारमा समेत ठूलो योगदान पुगेको छ।

प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएका तातोपानी कुण्डहरुलाई विश्वभर फैलाउने उद्देश्यले कुण्डसम्म पुग्ने स्थानहरु, अर्गानिक खाना,आवश्यक पूर्वाधार, तापक्रम, स्थानीय समुदायको परिचय लगायतका विषयहरू समेटिएको ब्रोसर, नक्सा लगायतका अति आवश्यक साम्रागी समेत जापानमा रहेका एक म्याग्देलीको सहयोगमा तयार गरिसकेका छन् ।

जिल्लाकै अति विकट धवलागिरी गाउँपालिको गुर्जा र मुदीको सीमा क्षेत्रमा पर्ने खरिबासमा रहेको तातोपानीको मुहानमाचार घण्टा अनकन्टार जंगलबाट हिडेर पुगेका मात्रै छैनन एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको गुणस्तर, डिग्री, रंग, सफा र पिउन मिल्छ कि मिल्दैन जस्ता आवश्यक साम्रागीहरु समेट्ने गरी प्रोफाइल बनाएर विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आउने वातावरण बनाइरहेका छन् ।

तातोपानीमा नेपालीले मात्रै स्नान गरेको देखेपछि विश्वमै प्राकृतिक तातोपानीले पर्यटकलाई म्याग्दीसम्म ल्याउन तातोपानी नजिक ठूला होटल सम्भव नभए होमस्टे, अर्गानिक खानाको सुविधालाई मध्यनजर गरी समुदायलाई सघाइरहेका छन् ।आवामुरासँग एउटा जापानको अनुसन्धान केन्द्रले तातोपानीका बारेमा गरेको स्थलगत रिर्पोटको तथ्याङ्क समेत साथमै छ ।

जापानका २० हजार होटलहरु रहेको कृतिम तातोपानी कुण्डमा बार्षिक १३ करोडले जापानीजहरुले स्नान गर्ने गरेका छन् । उक्त तथ्याङ्क हरेक बर्ष बृद्धि भइरहेको छ । जापानमा मात्रै नेपालको ततोपानी कुण्डको प्रचारप्रसार गर्न सकिएमा ठूलो हिस्सालाई सिधै म्याग्दीसम्म लाउन सकिने आवामुराको तर्क छ । जापानीहरु तातोपानीलाई बरदानको रुपमा लिन्छन् ।
जापानको तातोपानीसँग नेपालको तातोपानीको तुलना गर्न सकिदैन् । आवामुराको पहलमा जापानबाट एक टोलीले म्याग्दीको तातोपानी कुण्डको अवलोकन समेत गरेको छ ।

एउटा विदेशी पर्यटकले जिल्लाभित्र रहेका तातोपानी कुण्डलाई विश्वसामु चिनाउन गरेको प्रयासबारे यहाँका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु भने बेखवर जस्तै छन् । नूनिलो स्वादको तातोपानी निस्कने मुहानलाई चिनाउने प्रयासरत जापानीको समाचारहरु आउँदा समेत सम्बन्धित सरोकारावालाहरु उनलाई साथमा लिएर प्रचारको अवसर सदुपयोग गर्ने तर्फ चासो देखाइरहेका छैनन् ।

नेपाली समाजमा एउटा उखान छ ’माल पाएर चाल नपाउने’ हो यस्तै अवस्था तातोपानी कुण्डको छ । यहाँ भएका स्रोत–साधनको सदुपयोग गनेतिर विदेशी नागरिक आवामुरालाई प्रयोग गर्न सकेमा तातोपानीमार्फत विदेशी पर्यटक जिल्लामा भित्राउन सहज हुने थियो । तातोपानी कुण्ड चिनाउने अभियानमा रहेका आवामुरालाई  ‘बिग स्यालुट’
बेनी साप्ताहिक पत्रिकाबाट