पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा बिहीबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समितिको व्यवस्थापनमा गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको अन्तर्निहित क्षमताको उजागर गर्ने बताए । उनले प्रतियोगिताबाट नयाँ खेलाडीहरु उत्पादन गरी जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउँदै प्रतियोगिताले खेलाडी पहिचान तथा खेलकुदको विकासमा सहयोग पुग्ने बताएका छन् ।

मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनले गुणस्तरीय खेलकुद विकासमा प्रतियोगिताले सहयोग पुग्ने भन्दै गाउँपालिकामार्फत विभिन्न खेलकुदजन्य गतिविधिहरुलाई प्राथमिकता दिइएको बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी ज्ञानराज कोईराला, मंगला–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती, मंगला शिक्षा क्याम्पसका अध्यक्ष श्रीराम पौडेल र शिक्षक होमनाथ पाण्डेले प्रतियोगिताले विद्यार्थीहरुमा शिक्षासँगै खेलकुदको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए । उनीहरुले शैक्षिक क्रियाकलाप सँगसँगै खेलकुदका गतिविधिमा विद्यार्थीहरुलाई सहभागी बनाएर नेतृत्व र व्यक्तित्वको विकास गराउनुपर्नेमा जोड दिएका थिए ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, शिक्षा संयोजक डेकबहादुर बानियाँको स्वागत र कार्यकारी सचिव राजेन्द्र आचार्यको सञ्चालनमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मंगला गाउँपालिका भित्रका सञ्चालित ८ ओटा सामुदायिक र एकवटा संस्थागत गरी ९ ओटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका शिक्षा संयोजक बानियाँले जानकारी दिए ।

उक्त प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथ्लेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटरको दौड, १ सय र ४ सय मिटरको रिलेदौड, ज्याबलिङ–थ्रो, हाइजम्प, लङजम्प तथा त्रिपलजम्पसम्बन्धी खेलहरु रहेका छन् । सहस्रधारामा एथ्लेटिक्सतर्फका खेल र मंगला माविमा भलिबल तथा कबड््डीको प्रतियोगिता सञ्चालन गरिएको कार्यकारी सचिव आचार्यले जानकारी दिए । यसैबीच बिहीबार सम्पन्न भलिबलतर्फको उद्घाटन खेलमा मंगला माविले २ का विरुद्ध ३ सेटले महेन्द्ररत्न मावि बराङ्जालाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ ।

Leave a Reply