पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको ओखरबोट माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ । गाउँपालिकाको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विद्यालय भवन मङ्गलबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

कुल ७८ लाख २२ हजार एकसय ७१ रुपैयाँको लागतमा गएको आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको दुईतले चारकोठे पक्की विद्यालय भवनको लम्बाई १४ मिटर ७० सेन्टिमिटर, चौडाई ९ मिटर ३५ सेन्टिमिटर र उचाई ९ मिटर रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका सव–इन्जिनियर प्रेमबहादुर नेपालले जानकारी दिए । उनका अनुसार ४८ जना विद्यार्थी सजिलै अट्न सक्ने प्रति कोठा लम्बाई ६ मिटर ९५ सेमी र चाडाई ४ मिटर ७५ सेमीका छन् ।

नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विद्यालयको भौतिक संरचना निर्माणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले विद्यालयको दीगो विकासका लागि शिक्षक, विद्यार्थी, समुदाय र विद्यालय व्यवस्थापन समिति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै एकताबद्ध भई सहकार्य गरेर विद्यालयको विकासमा केन्द्रीत हुन सुझाव दिए ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुलले पालिका भित्रका वडाहरुमा आमूल परिवर्तन, रुपान्तरण र विकासका लागि पहल गरिएको भन्दै विकास निर्माणको काममा राजनीति नगरी सबै मिलेर अगाडि बढ्नुपर्ने बताइन् । उनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका साथै भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताउँदै विद्यार्थी आकर्षण गर्नका लागि आवश्यक योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले विद्यालयसहित वडाको विकासका लागि आफूले सक्दो पहल गर्दै आइरहेको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख तुलाराज चौलागाईंले लगनशील विद्यार्थी, समर्पित शिक्षक र समन्वयकारी अभिभावक नभएसम्म विद्यालयको विकास हुन नसक्ने हुँदा त्रिकोणात्मक सम्बन्धबाटै शैक्षिक प्रगति हासिल गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रमको अवसरमा विद्यालय भवन निर्माणमा अहोरात्र खटिएका गोपाल कँडेललाई विद्यालयको तर्फदेखि दोसल्ला ओढाएर सम्मान गरिनुका साथै पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलतर्फ द्वितीय हुने छात्र तथा छात्राहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यसैगरी सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी लक्ष्मी छन्त्यालले विद्यालयलाई एकएक थान भलिबल र जाली उपलब्ध गराएकी थिइन् भने ओखरबोटका विनोद शेरचनले आफ्नी स्वर्गीय आमा शतकुमारी शेरचनको स्मृतिमा विद्यालयलाई साउण्ड सिस्टम सौजन्य गरेका छन् ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदी, मालिका गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछाने, वडा सदस्य यामबहादुर पुन र भवन निर्माणकर्ता गोपाल कँडेलले मन्तव्य राखेका थिए । कार्यक्रम विव्यस अध्यक्ष दलप्रसाद घर्तीको अध्यक्षता, प्रधानाध्यापक नवीन कार्कीको स्वागत र शिक्षक प्रगति कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply