---Advertisement---

आहा ! पर्वत र बागलुङ जोड्ने एसियाकै लामो झोलुङ्गे पुल

By -
On: February 14, 2020 12:08 PM
Follow Us:

नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा यसमा एउटा इँटा थप्ने आशा गरिएको पर्यटकीय गन्तव्यको रूपमा पर्वत र बागलुङ जिल्लालाई जोड्ने झोलुङ्गे पुल मानिएको छ ।५ सय ६७ मिटर लम्बाई र १ सय २२ मिटरको उचाइमा पर्वतको कुस्मा नगरपालिका-१ पाङको अदुवा बारी र बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी शालिग्राम शिला पाइने नेपालकै एक मात्र नदी कालीगण्डकी माथि यो पुलको निर्माण भइरहेको छ।

पुलको निर्माण कार्य २०७७ सालको असार महिनासम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको र तोकिएको समयअगावै काम सकिने पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए। ‘पुलको काम धमाधम भइरहेको छ, निर्धारित मिति भन्दा पहिले नै सकिन्छ।

अब करिब १० प्रतिशत जति काम बाँकी होला,’ उनले भने, ‘अब छेउमा जाली र ठाडो डन्डी राख्ने, पुललाई हल्लिन नदिन ‘एङ्कर प्लक’बाट ‘साइड लट्ठा’ कस्ने र उज्यालोको लागि सोलार बत्तीहरू जडान गर्ने काम बाँकी रहेको छ।’निर्माणका क्रममा सस्पेन्सन ब्रिज महाशाखा, बागलुङ नगरपालिका र कुस्मा नगर पालिकाले विशेष चासो र निगरानी गरेका कारण पनि तोकिएको समय भन्दा पहिले नै गुणस्तरीय रूपमा पुलको काम सकिने सुवेदीको भनाई छ ।

-