उत्तरी म्याग्दी जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडक खण्ड भएर तपाईं यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने विचार गर्नुस् । सडक स्तरउन्नती तथा विस्तारमा सहज हुने गरी आगामी फागुन १० गतेदेखि चैत्र १५ गतेसम्म रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा विभिन्न समयमा बन्द हुँदैछ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालकाहरुको बैठकले सडक निर्माणकार्यलाई तिब्रता दिन दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बेनीअनलाइनलाई बताए । निर्माण कम्पनीले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्,‘बैकल्पिक बाटो मर्मतमा समेत सहजिकरण गर्ने निर्णय भएको छ’ सुबेदीले भने ।

उनका अनुसार बिहान ८ बजेदेखि दिउँसो १२ बजे र दिउँसो २ः३० देखि साँझ ६ः३० बजेसम्म सडक बन्द हुने छ । उक्त समयमा साना सवारीसाधनलाई घुमाउने ताल–पिप्ले–रानीपौँवा– माझखर्कको बैकल्पिक बाटो प्रयोग गर्ने गरी मर्मतमा समेत सम्बन्धित निर्माण ब्यवसायीलाई अनुरोध गरिएको छ ।

बैठकमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका जनप्रतिनिधि, सुरक्षाकर्मी लगायता सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा शर्मा यूनाईटेड जेभीको प्रगति समेत निराशजनक छ। यसैबीच सडक निर्माणकार्यलाई तिब्रता दिन अनुगमनलाई समेत प्रभावकारी बनाइने भएको छ ।

Leave a Reply