म्याग्दी विकास योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण यहाँ देखिएको छ । बेनी – अर्थुङ्गे – पाखापानी सडक स्तरउन्नती गर्ने योजना अन्तर्गत बेनी नगरपालिकाको महारानीथान स्थित सडकमा विद्युतको पोल बिच भागमै राखेर सडक निर्माण गरिएको छ ।सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण यस्तो समस्या आएको हो । सडक विचमा रहेको पोलको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फेसबुकमा फोटो पोष्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सम्बन्धित सरकारी कार्यालयलाई गाली गरिरहेका छन् ।विद्युत सेवा विस्तार गर्दा विद्युत प्राधिकरण म्याग्दीले सडक छेवैमा पोल गाडेको र हटाइदिन अनुरोध गर्दा अटेरी गरेका कारण बाध्य भएर पोल बिचमा राखेर ढलान गर्नुपरेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाले बताए ।

‘यो विद्युत प्राधिकरणको लापरबाही हो’, उनले भने ‘सडक क्षेत्राधिकार भित्र पोल गाड्ने अनि सडक विस्तार गर्दा पोल सार्न अनुरोध गर्दा विद्युत कार्यालयले हामी सँग पैसा माग्ने प्रवृत्ति छ ।’

विद्युत पोल स्थान्तरण गर्न कार्यालयसँग बजेट हुँदैन उनल भने । सडक क्षेत्राधिकार भित्र रहेका पोलको स्थानान्तरण गर्ने प्रमुख जिम्मेवारी विद्युतकै भएको उनको भनाई छ । यो विद्युत प्राधिकरणको चरम लापरबाही भएको उनले बताए ।प्राधिकरणलाई सचेत बनाउन पनि हामीले बिच सडकमा पोल राखेर ढलान गरेका हौं उनले भने । धेरै पटक अनुरोध गर्दा पनि पोल हटाउन अटेरी गरेका कारण आगमी दिनमा विद्युत कार्यालय सचेत होस भनेर हामीले यस्तो गरेको उनको भनाई छ ।

४५ लाख रुपैयाँमा ९० मिटर ढलान र दुइसय ३० मिटर कालोपत्रे गर्न योजना भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण व्यवसायी श्रमजिवी निर्माण सेवा सँग ठेक्का सम्झौता गरेको हो ।विद्युतका पोल र केही घरहरुका कारण सडक मापदण्ड अनुसार काम गर्न असहज भएको कार्यालयले जनाएको छ । बेनी नगरपालिकाका इन्जिनियर विमल रञ्जन कार्कीले पोललाई स्थान्तरण गर्नका लागि सम्बन्धित निकायसँग कुरा भइरहेको जानकारी दिए । शिव बोहोरा

Leave a Reply