कसैले होटेल तथा रेष्टुरामा गएर आफ्ना साथीभाइ तथा शुभचिन्तकहरुको माझ जन्मदिन मनाउने गर्दछन् भने कसैले दिनदुःखीहरुलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गरेर आफ्नो जन्मदिनलाई स्मरण गर्ने गर्दछन् तर म्याग्दीकी एक स्रष्टाले भने एक साहित्यिक कार्यक्रम मार्फत् आफ्नो जन्मदिन मनाएकी छन् । हिरा शर्मा ‘सङ्घर्ष’ले आफ्नो जन्मदिनको अवसर पारेर ‘काब्य घर’ नामक साहित्यिक कार्यक्रममा सहभागी भएर आफ्नो जन्मदिन मनाएकी हुन् ।

फाल्गुण ४ गते आइतबारका दिन पिता मणिरत्न उपाध्याको साथमा ‘काव्य घर’मा उपस्थित भएर दर्जनका हाराहारीमा आफ्ना मुक्तक, गीत तथा गजलहरु सुनाएर उपस्थित सवैलाई मन्त्रमुग्ध बनाएकी हुन् । जीवनमा निकै आरोह÷अवरोहहरु पार गर्दै यो स्थानसम्म आउन सफल उनले सिर्जनाहरु मार्फत् आफ्ना जीवनका भोगाई प्रकट गरेकी थिइन् । उनले रचनाहरु वाचन गर्दैगर्दा उपस्थित सवैले ताली बजाएर उनलाई साथ दिएका थिए ।

साहित्यिक सर्जकहरुलाई स्टेजमा राखेर उनीहरुका सिर्जनाको साथमा जीवनका भोगाईहरु सुनिने कार्यक्रमको उद्देस्य रहेको छ । मासिक रुपमा सञ्चालन गरिने यस कार्यक्रममा धवलागिरी अञ्चलका विभिन्न स्रष्टाहरुलाई समेटेर विभिन्न स्थानमा गएर कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा ‘प्रायश्चित’ महाकाव्यकार गणनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दीप खत्री, उपाध्यक्ष गङ्गा बानियाँ, ‘श्री’ मुक्तक सङ्ग्रहका लेखक सुमन केसी, सिविन् म्याग्दीका प्रमुख वसन्त ढुङ्गाना, गजलकार सिपी सखी, युवा सञ्जाल म्याग्दीका अध्यक्ष सन्दिप रिजाल, युवा गजलकारहरु दिप पराजुली, दिपक शर्मा ‘दिपु’, कान्ति पौडेल, रञ्जना श्रेष्ठ, पत्रकार अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो । उपस्थित सवैले आफ्ना सिर्जनाहरु समेत वाचन गरेका थिए ।

‘काव्य घर’को नायकका रुपमा म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीलाई चयन गरिएको थियो । घायलश्रीको सञ्चालनमा सम्पन्न कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्य समितिको आयोजनामा सम्पन्न भएको थियो ।

को हुन् ‘सङ्घर्ष’?
पिता मणिरत्न उपाध्याय र माता सुमित्रा उपाध्याको कोखबाट २०३७ साल फाल्गुन ४ गते म्याग्दीमा जन्मेकी हिरा शर्मा पौडेल साहित्यिक क्षेत्रमा ‘सङ्घर्ष’को नामले परिचित छन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी उनी पेसाले शिक्षिका हुन्। दुःखबाट नै जीवन जिउन सिकिन्छ भन्ने विस्वासले नै उनी आज यो ठाउँमा छन् ।

जीवनका हरेक घुम्तिहरुमा पटकपटक लड्दै र उठ्दै गरेका कारण नै आफ्नो नाम ‘सङ्घर्ष’ रहेको स्विकार्न हिचकिचाउँदिनन् । जीवन नै साहित्य हो भन्ने कुरालाई मूल मन्त्र मान्ने उनले बेनपा–४, राक्सेका महिलाहरुलाई नौमती बाजा समूहमा गोलबद्ध गराई सशक्तिकरणको बाटोमा डो¥याउने उनको प्रयास सह्रानीय रहेको छ । पछिल्लो समय उक्त बाजा समूहले विभिन्न ठाउँमा गएर आफ्नो कला समेत प्रस्तुत गरेर प्रसंशा बटुल्न सफल भएको छ ।

विभिन्न सामाजिक तथा साहित्यिक सङ्घ संस्थाहरुमा आवद्ध उनलाई म्याग्दीको माटोमा प्रगतिशील नारी हस्ताक्षरको रुपमा चिन्ने गरिन्छ । प्रगतिशील लेखक सङ्घ म्याग्दीको उपाध्यक्ष, म्याग्दी साहित्य सञ्चारको सचिव भएर साहित्यिक सङ्घ संस्थाहरुको समेत नेतृत्व गरेकी उनको ‘उसको डायरी’ नामक उपन्यास समेत प्रकाशन भइसकेको छ भने आफ्ना स्वतन्त्र धारका गजलहरु समावेश गरेर एक गजल सङ्ग्रह समेत छिटै बजारमा आउने तयारीमा रहेको छ ।

Leave a Reply