नेपालीमा उखान छ‘गर्नेलाई भन्दा हेर्नेलाई लाज’। बेनी–अर्थुङ्गे–पाखापानी सडक स्तरउन्नती गर्ने क्रममा सडकमै विद्युतको पोल यो उखान चरितार्थ भएको छ। सडकखण्डको घुम्ती नजिक पोलले जोखिम मात्रै बढाएको छैन सदरमुकाम बेनी नजिकको विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण समेत देखिएको छ ।

बेनी नगरपालिकाको महारानीथानस्थित सडकमा विद्युतको पोलले साना तथा ठूला सवारीसाधन दुर्घटनाको जोखिमलाई मध्यनजर गरी स्थानीयले पटक–पटक हटाउन माग गरेपनिसम्बन्धित निकायले पोल हटाउन भने बेवास्ता गर्दा सडक यात्रा सुरक्षित हुन सकेको छैन ।’यो एरियामा गाडी चलाउन धेरै सतर्क हुनुपर्छ, निकै जोखिम छ’ एक स्थानीयले भने ।

सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण साना सवारीसाधन घुम्ती मोडेर बेनीतर्फ आउने क्रममा ठोकिने जोखिम भएकाले तत्काल हटाउन नेकपा म्याग्दीका अध्यक्ष एवम् संविधान सभा सदस्य गोविन्द पौडेलले समेतविद्युतका कर्मचारीलाई जानकारी गराएका थिए।‘एकैदिनमा हटाउने बताएका थिए,‘फर्किएर आएका छैनन’ पौडेलले भने।

विकास निर्माणमा जिल्लाका सरकारी निकायको समन्वयको अभावले दिर्घकालिन असर गर्ने गरेको बताए ।सडकखण्डमा ढलान गर्ने क्रममा साँधुरो भएको छ भने नाली ब्यवस्थित छैन् । रिटेनिङ पर्खाल नभएको र घुम्ती साँघुरो भएका कारण घुम्ती नजिक दुर्घटनाको जोखिम रहेको छ ।

ढलान गर्ने क्रममा पूरानो पदैलमार्ग समेत पुरिएको छ। सडकको छेउमा रहेको पोल हटाइदिन अनुरोध गरिएको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाले बताए । ‘एकसाताभित्र पोल हट्छ,‘सडक क्षेत्राधिकार भित्र रहेका अन्य ठाउँका पोल पनि हटाउन पहल भइरहेको छ’ उनले भने ।

४५ लाख रुपैयाँमा ९० मिटर ढलान र दुइसय ३० मिटर कालोपत्रे गर्न योजना भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण व्यवसायी श्रमजिवी निर्माण सेवा सँग ठेक्का सम्झौता गरी काम अन्तिम चरणमा पुगेको छ। ढलानका कारण पुरानो बाटो साँधुरो देखिएको छ भने नाली ब्यवस्थापन नहुदाँ बर्खामा बाढीको जोखिम समेत उत्तिकै रहेको छ । सडकमा रहेको पोलको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

Leave a Reply