केशब कँडेल\बावियाचौर
मंगला गाउँपालिका–२,बावियाचौरको लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन शिलान्यास गरिएको छ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले बिहीबार धार्मिक विधिपूर्वक भवनको शिलान्यास गरेका हुन् ।

पश्चिम म्याग्दीको पहिलो र एकमात्रै क्याम्पसमा आवश्यक भौतिक पूर्वाधार निर्माणको अभियान अन्तरगत स्थानीयको सक्रियतामा संकलन गरीएको चन्दाबाट क्याम्पसको नाममा खरिद गरिएको जग्गामा बन्ने लागेको ८ कोठे भवनको शिलन्यासन गदैं प्रतिनिधि सभा सदस्य थापाले भविस्यमा थप बजेटको प्रतिबद्धता समेत जनाए । उनले एउटै गाउँपालिकामा नमुना विद्यालय र क्याम्पसका लागी विनियोजित बजेटले शैक्षिक हब बनाउन सकिने बताए ।

‘क्याम्पसलाई भौतिक पूर्वाधार आवश्यक छ,‘यहाँ प्राप्त बजेटलाई सदुपयोग गर्नुहोस्, थप योजनाहरूमा पहल गर्नेछु’ थापाले भने। उनले बेनी–दरबाङ हुदै धवलागिरी गाउँपालिकाको ताकमसम्म कालोपत्रे योजना सहित भौतिक पूर्वाधारमा समेत प्राथमिकतामा परेको बताउँदै शैक्षिक गुणस्तरमा ध्यान दिन सकेमा छिमेकी जिल्ला बागलुङबाट समेत विद्यार्थीको आर्कषण बढ्ने बताए।

उनले उच्च शिक्षाका लागि सदरमुकाम बेनी तथा जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सामुहिक प्रयासमा क्याम्पसको भौतिक तथा शैक्षिक अभियानमा जुट्न समेत अनुरोध गरेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले मंगलाबासीको पसिनाबाट क्याम्पसको स्थापना भएको बताए । ‘क्याम्पसको यो अभियानसम्म आउन धेरैले सहयोग गर्नुभएको छ,‘यो जग्गा खरिदले क्याम्पसलाई दिर्घकालिन फाईदा पुगेको प्रष्ट भएको छ’ रोकाले भने ।

स्वदेश तथा विदेशमा रहेका मंगलाबासीको आर्थिक सहयोगमा लाम्पातामा ३१ रोपनी जग्गा खरिद गरिएकोमा भवन निर्माणसँगै खेलकुद मैदान, प्राविधिक लगायतमा अन्य पूर्वाधारका लागी प्रयाप्त भएको बताए । ‘क्याम्पसका भावी योजनाहरुका लागी आवश्यक जग्गा छ,‘हामीले नमुना क्याम्पस बनाउन दिनरात मेहनत गरेका छौ’ रोकाले भने । उनका अनुसार क्याम्पसमा अन्य संकायहरु समेत थप गरी पश्चिम क्षेत्रबाट उच्च शिक्षाका लागि पलायन हुने जनशक्तीलाई रोक्ने बताए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले क्याम्पसको जग्गा तथा भौतिक पूर्वाधार निर्माणमा स्थानीयको प्रयासको प्रशंसा गरेका थिए । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले सम्झौता अनुसार गुणस्तरीय कामका लागि निरन्तर अनुगमन गरिने बताए । वडा नं २ का अध्यक्ष धनबहादुर खाती, पूर्वाधार विकास समितिका संयोजक चन्द्र बहादुर बुढाथोकीले समेत थप योजनाका प्रदेश तथा संघीय सांसदबाट बजेटको आवश्यकता रहेको बताए ।

सांसद थापाको आव २०७६÷०७७ को पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ७० लाख, गाउँपालिकाले २६ लाख गरी कुल ९६ लाखको बजेटमा ठेकेदारले ६३ लाखको टेन्टरमार्फत ८ महिनाभित्र भवन सम्पन्न गर्ने सम्झौता गरेको गाउँपालिकाले जनाएको छ । भवन शिलन्यास कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम पौडेल, स्वागत क्याम्पस प्रमुख पितम बहादुर खत्री र सञ्चालन स. प्रध्यापक चन्द्र रोकाले गरेकी थिईन् ।

हाल मंगला माविको भवनमा सञ्चालन भइरहेको क्याम्पसको पहिलो चरणको पूर्वाधार सम्पन्न भएपछि लाम्पाटाबाट कक्षा सञ्चालन गरिने छ । बि.श २०६६ सालमा क्याम्पसको स्थापना गरिएको क्याम्पस आर्थिक अभावमा परेपछि सुरू गरेको आर्थिक संकलन अभियानमार्फत करिव ८२ लाखभन्दा धेरै संकलन गरिएको थियो । यसैबीच आर्थिक संकलन अभियानलाई पुनः सञ्चालन गरिने भएको छ ।

Leave a Reply