धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने म्याग्दीको भकिम्ली–३ मा अवस्थित स्वर्गाश्रममा भक्तजनलाई बस्ने भवन निर्माण हुने भएको छ। समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा नगरपालिकाबाट ८ लाखको बजेटमा बन्न लागेको भवनको उपमेयर सञ्जु बरुवालले शिलन्यास गदैं भक्तजनलाई आश्रममै बस्ने र घुम्न आउनेलाई सहज भएको बताईन् ।

सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम ओझेलमा परेको अवस्थामा प्राप्त बजेट अपुग हुने भएकाले थप बजेटको आवश्यकता रहेको वडा अध्यक्ष पदम पुनले बताए।

झण्डै १ सयवर्ष पुरानो इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न सप्तक्रषि डाँडाहरुले घेरिएको छ । स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदी रहेकोमा पूर्वाधारको अवाश्यकता रहेको वडा सदस्य एवम् आश्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए । उनले समुदायको पहलमा आश्रमको विकास भएको बताउँदै भविस्यमा निरन्तर बजेट आउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोही अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, सरकारी वकिल कार्यालयका कृष्णराज पन्त, लगाएत स्थानियबासीको उपस्थितीमा सम्पन्न भएको थियो ।आगामी जेठ महिनाभित्र भवन सम्पन्न गर्ने योजना रहेको छ । भकिम्लीको स्वर्गाश्रमको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«, निलगिरी, मानापाथी, गूर्जा, गणेश, बेहुलाबेहुलीलगायत दजनौं सेताम्मे हिमालहरु देखिन्छन् । आश्रम आसपासको वनजङ्गलमा रातो, सेतासहित विभिन्न ७ रङका लालीगुराँसहरु पाइन्छन् ।

आश्रमको नजिकै ऋषि माताहरुले तपस्या गर्ने गरेको ओढारमा २०४३ देखि ५५ सालसम्म ईन्दिरा माताले तपस्या गरेकी थिईन् । आश्रममा सन् १९४८ मा छविनन्दप्रसाद गुरुले तपस्या गरेका थिएभने २०१७ सालमा बागलुङको बिहुँबाट प्रमानन्द गुरु बालतपसी आई तपस्या गरेका थिए । आश्रममा हरेक वर्ष बैशाख १ गते रथयात्रासहित विषेश पुजाआजा गरिन्छ । आश्रम नजिकै रहेको ३ हजार मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट म्याग्दी, पर्वत बागलुङ, गुल्मीसहित ८ जिल्लाको केही भागहरु देखिने स्थानीयको भनाई छ । तस्वीर सौजन्य सन्दिर रिजाल 

Leave a Reply