(अमृत भादगाउँले) टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो। त्यहाँको पर्यटन विकाससँगै सेरोफेरोका गाउँ पनि चम्कनेछन्। त्यसैले बेनी बजार–टोड्के सडक कालोपत्रे गर्न अबेला भैसक्यो। हिजो मुला र आलुका लागि ख्याति कमाएको टोड्के आज पर्यटकीय गन्तव्य बनेको छ। त्यहाँको शान्त वातावरण, दूधे हिमाल र शीतल वतासले मोहित बनाउँछ। डाँडा(२,४०० मिटर)बाट गुर्जा, चुरेन, मानापाथी, निलगिरी , अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। बिहान सूर्यको लाली पर्दा र साँझ घाम डुब्दा रंगीन बन्छन् हिमाल।

टोड्के अर्थात् बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगम। प्रकृति र अध्यात्मको दोभान। डाँडामा स्वर्गद्वारी मन्दिर छ। प्यूठानको स्वर्गद्वारीको शाखाका रूपमा यसको विकास गरिँदैछ। मन्दिरभित्र स्वर्गद्वारी महाप्रभुको खराउ, शिवलिंग लगायत सामग्री सुरक्षित छन्।

टोड्केमा पुस–माघमा हिउँ पर्छ। त्यतिबेला हिउँ खेल्नेहरू उकालिन्छन्। तल बेंसीमा गर्मी चढ्दा शीतल खोज्दै तन्नेरीहरू त्यहाँ उकालिन्छन्। फागुन–चैतमा डाँडामा लालीगुराँसको बैंस चढ्छ। यस्तो बेला मनै उज्यालो हुन्छ।

रोमाञ्चक वातावरण भएको टोड्केलाई हनिमुन डेष्टिनेशनका रूपमा ब्राण्डिङ गर्ने कि ! त्यहाँ दुई रात बसेर आनन्दित हुन कि ! डाँडामा टोड्के हिल रिसोर्ट खुलेको छ। तीन करोड रुपैयाँ खर्चेर ६ रोपनीमा बनाइएको रिसोर्टका ३५ जना शेयर होल्डर छन्। अट्याच बाथरुमसहित १० कोठा र केही टेन्ट सुविधा छ। एकैपटक ६० जना बास बस्न सक्ने रिसोर्टका अध्यक्ष मीनबहादुर पाइजा बताउँछन्। त्यहाँ सेमिनार हलको पनि व्यवस्था छ।

टोड्के डाँडा वरपर विभिन्न गाउँ छन्। दक्षिणमा पूर्णगाउँ, उत्तरमा झीँ, दक्षिण–पूर्वमा उवाखेत गाउँ छन्। पूर्णगाउँ, उवाखेत र झीँमा होमस्टे सुविधा छ। झीँबाट हिँडेर जाँदा डेढ घन्टामा टोड्केको थाप्लोमै पुगिन्छ। टोड्केबाट ५ घन्टा पदयात्रामा मालिकाधुरी पुगिन्छ। टोड्केको पर्यटन विकाससँगै वरपरका गाउँहरूको पनि कायाकल्प हुन सक्छ। मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाले आआफ्नो क्षेत्रबाट टोड्के उकालिने सडक कालोपत्रे गरिहाल्नु जरुरी देखिन्छ।

आज त्यहाँ एउटा रिसोर्ट खुलेको छ, भोली डाँडामा अरू रिसोर्ट पनि खुल्नेछन्। वरपरका गाउँमा पनि चहलपहल बढ्नेछ। अनि बल्ल टोड्के एउटा सुन्दर पहाडी गन्तव्यका रूपमा चम्किनेछ। म्याग्दी सदरमुकाम बेनी बजारबाट जीपमा टोड्के जान डेढ घन्टा लाग्छ।

घुमफिर प्याकेज
भीमबहादुर शेरचन,निर्देशक, टोड्के हिल रिसोर्ट  


प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरण भएको टोड्केमा मनको शान्ति मिल्छ। हामीले २ रात ३ दिनका विभिन्न प्याकेज बनाएका छौं। हनिमुन प्याकेजमा जोडीले ९ हजार एक सय ९९ रुपैयाँ तिर्नुपर्छ। त्यस्तै फेमिली प्योकजको ४ हजार ५ सय ९९ रुपैयाँ, कर्पोरेट प्याकेजको ३ हजार ९ सय ९९ रुपैयाँ र एजुकेशनल प्याकेजको २ हजार ९ सय ९९ रुपैयाँ लिन्छौं। प्याकेज किन्नेलाई बेनी बजारबाट टोड्केसम्म निःशुल्क यातायात सुविधा दिन्छौं।
सम्पर्क: ९८५१०२३०३२

Leave a Reply