सदरमुकाम बेनी बजारकी मनमाया बुढाथोकी बुढ्यौलीमा कक्षा १ मा पढ्दैछिन्। उनलाई कक्षा १० सम्म पढेर एसइई दिने रहर छ। ‘अक्षर नचिन्दा मोबाइल फोनमा नम्बर थिच्न पनि जानिनँ’, उनले भनिन्, ‘त्यसैले पढ्न आएकी।’ उनी ७२ वर्षकी भइन्। उनी बेनी बजार छेउको ‘उज्यालो वैकल्पिक विद्यालय’मा दिनहुँ धाउँछिन्। उनका तीन छोरा र तीन छोरी छन्। बुढेसकालमा आफूले अक्षर चिनेकामा छोराछोरी खुसी रहेको उनले सुनाइन्। उनको इच्छाशक्ति ठूलो छ। ‘पढ्ने मात्र दिमागमा आउँछ’, उनले भनिन्, ‘कसरी एउटा अक्षर चिनौं भन्ने मात्र हुन्छ।’
विद्यालयको अनुहारै नदेखेका र पढ्दापढ्दै बीचमै पढाई अधुरो रहेका मनमाया जस्ता ६८ जना महिला यहाँ पढ्छन्। ‘पढ्ने धोकोलाई उमेरले छेक्दैन’ भन्ने नाराका साथ सञ्चालित विद्यालयमा १४ वर्ष भन्दामाथिका विद्यार्थीलाई पढाइन्छ। त्यहाँ विभिन्न उमेरका विद्यार्थी पढ्छन्। ‘छोराछोरी र परिवारले मात्र पढेर नहुने रैछ’ कक्षा ७ की लीला छन्त्याल भन्छिन्, ‘आफ्नो लागि आफैं पढ्नु पर्ने रहेछ।’
प्रौढ शिक्षाबाट साक्षर बनेकी उनी एकै पटक कक्षा तीनमा भर्ना भएकी थिइन्। उनका तीन छोरी र एक छोरा छन्। एउटी छोरी पनि अर्कै स्कुलमा कक्षा ७ मै पढ्दैछिन्। ‘आमाछोरी सँगै एसइई दिनेछौ’, उनले हाँस्दै सुनाइन्।
गंगा देवि शर्मा, शिक्षिका विद्यालयको वातावरण रमाइलो छ। कहिले टिभीमा सिकाइन्छ। कहिले कम्प्युटरको ज्ञान दिलाइन्छ। शिक्षक, शिक्षिका पनि मेहेनती छन्। विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशाला पनि छ। पढेस्वरुप मासिक शुल्क तिर्नु पर्ने बाध्यता छैन, चन्दा दिन सक्छन्।
‘रमाइलो वातावरणमा पढ्न पाएका छौं’, कक्षा ९ कि २२ वर्षिया सलिना किसान भन्छिन्, ‘पढेर आत्मनिर्भर बन्न चाहन्छु।’ कक्षा ७ पढ्दापढ्दै उनको पढाई छुटेको थियो। वैकल्पिक विद्यालय खुलेपछि उनको पढ्ने रहर पूरा हुँदैछ।विद्यालयकी सहजकर्ता रिता गर्बुजाका अनुसार यहाँ कक्षा ९ सम्म पढाई भैरहेको छ। ८ शिक्षक कार्यरत छन्। विद्यालयमा दिउँसो ११ देखि ३ बजेसम्म पढाई हुन्छ।
विद्यालय हाल महिला विकास कार्यालयको भवनमा सञ्चालित छ। विभिन्न संघसंस्थाको सहयोगमा विद्यालय चलाइएको व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्य बताउँछन्। ‘हामीले नमुना विद्यालय चलाएका छौं’, शाक्यले भने, ‘गुणस्तरमा उत्तिकै जोड दिएका छौं।’
शिक्षिका गंगादेवी शर्मा भन्छिन्, ‘हाम्रा विद्यार्थी जिज्ञासु हुनुहुन्छ। उहाँहरू राम्रोसँग सोधखोज गर्नु हुन्छ। घरमा हुँदा पनि फोन गरेर सोध्नु हुन्छ। तर, पाका विद्यार्थीलाई बुझाउन कठिन हुँदो रहेछ। उहाँहरूले ढिलो बुझ्नु हुन्छ। तैपनी पढाउन रमाइलो लागिरहेको छ।’
Source: nagariknews.com