म्याग्दीको सदरमुकाम बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत सडकमै रहेको विद्युतको पोल हटाइएको छ । बेनीदेखि अर्थुङे हुदै विभिन्न ग्रामिण क्षेत्र जोड्ने सडक स्तरउन्नती गर्ने क्रममा सडकमै विद्युतको पोलको समाचार प्रकाशित भएपछि विद्युत प्राधिकरण बेनी शाखाले शनिबार पोललाई हटाएर सडक छेउमा अर्को पोल हालेको अर्थुङे यूनाईटेडका अध्यक्ष शिशिर शाहीले बताए ।

‘दबाबबाटै यो काम भएको छ,‘सडक विस्तारमा समान्य ध्यान समेत नदिदाँ दवाव दिनुपर्ने अवस्था आएको छ’ उनले भने । पोल हटाइएपनि सडक गुणस्तरीय बनाउन आवश्यक निगरानी गर्नुपर्ने स्थानीयबासीको भनाई छ ।

सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण साना सवारीसाधन घुम्ती मोडेर बेनीतर्फ आउने क्रममा ठोकिने जोखिम थियो । सडकखण्डमा रिटेनिङ पर्खाल नभएको र घुम्ती साँघुरो भएका कारण घुम्ती नजिक दुर्घटनाको जोखिम रहेको छ ।

सडकखण्डको घुम्ती नजिक पोलले जोखिम मात्रै बढाएको छैन सदरमुकाम बेनी नजिकको विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण भएको भन्दै बेनीअनलाइनले समेत समाचार प्रकाशित गरेको थियो ।

४५ लाख रुपैयाँमा ९० मिटर ढलान र दुइसय ३० मिटर कालोपत्रे गर्न योजना भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण व्यवसायी श्रमजिवी निर्माण सेवा सँग ठेक्का सम्झौता गरी काम अन्तिम चरणमा पुगेको छ। सडकमा रहेको पोलको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Leave a Reply