म्याग्दीको बेनी नगरपालिका–५ नम्बर वडामा पर्ने पुलाचौर–चिप्लेटी हुँदै डडुवा जोड्ने ग्रामीण सडक गाउँले आफैले मर्मतसम्भार गरेका छन् । उक्त सडकखण्ड अन्तर्गत चिप्लेटी गाउँ नजिकै पर्ने डहरेढुङ्गास्थित अप्ठ्यारो ठाउँमा सडकको मर्मतसम्भार गरिएको हो ।

डहरेढुङ्गा खोलानेर अप्ठ्यारो ठाउँमा सडकको मर्मत गरिएको जनाइएको छ । सडकको बिच भागमा रहेको चट्टान फुटाएर तथा सडकमा भएको खाल्डाखुल्डी पुरेर सडक मर्मतसम्भार गरिएको चिप्लेटीका शेरबहादुर बानियाँले जानकारी दिएका छन् । उनका अनुसार वडा कार्यालय र बेनी नगरपालिकामा पटकपटक मौखिम रुपमा जानकारी गराउँदा पनि सम्बन्धित निकायले सडक मर्मतमा चासो नदिएपछि गाउँले आफै उठेर सडकको मर्मत गरेका हुन् ।

दैनिक रुपमा जिप, ट्याक्टर र मोटरसाइकल आवतजावत गर्ने उक्त सडकमा कडा चट्टान परेपछि यात्रा गर्न तथा मालसामान ढुवानी गर्न समस्या भएको थियो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पुलाचौर, चिप्लेटी, डडुवा र छिमेकी मंगला गाउँपालिकाको पूर्णगाउँ, टोड्के र कुहुँ गाउँका स्थानीय समेत पुलाचौर–चिप्लेटी सडकखण्ड भएर यात्रा गर्ने गरेका छन् । स्थानीयका लागि चिप्लेटी–पुलाचौर सडकखण्ड भएर सदरमुकाम झर्न र गाउँ फर्कन यो खण्ड छोटो, छिटोछरितो र बलियो मानिन्छ ।

सडकखण्ड मर्मतसम्भार गर्नका लागि आग्रह गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गर्दै आएको गाउँलेले गुनासो गरेका छन् । सुरुमा ट्¥याक निर्माण गरेपनि यस सडकखण्डलाई मर्मतसम्भार गर्नका लागि भनेर बजेट विनियोजन हुन सकेको छैन । बेनी नगरपालिकाले महायज्ञ, मेला, महोत्सवमा चन्दा सहयोग गर्ने गरेको भए पनि ग्रामीण भेगका सडकहरु मर्मतसम्भार नगर्दा जिर्ण बन्नुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

Leave a Reply