म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा यो सिजनको सातौंपटक हिमपात भएको छ । बाक्लो हिमपातका कारण बालबालिका, बृद्धबृद्धालाई घरबाट आसपासका क्षेत्रमा आवतजावतमा समेत समस्या भएको छ। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा करिव एक फिट हिउँ परेको स्थानीय जनकल्याण मावि गूर्जाका शिक्षक असल छन्त्यालले जानकारी दिए ।

कात्तिक र मंसिर महिनामा परेको हिमपातले गूर्जाबाट देउराली, लुलाङसम्म आइपुग्ने बाटो समेत हिउँले पुरेपछि आवतजावतमा समेत समस्या भएको थियो । गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासका क्षेत्रमा समेत हिम जमेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘अझै हिमपात भइरहेको छ,‘बर्षाका कारण हिमपात जारी छ’ छन्त्यालले भने।

जिल्लामा लुकेको बस्तीको रुपमा समेत चिनिने गूर्जा, चुरेन र पुथा हिमाल आसपासमा क्षेत्र हिउँले सेताम्मे भएकाको दृष्य हेर्न लायकको देखिन्छ । एउटै बस्तीमा एक सय ४२ घरपरिवारले बसोबास गर्ने गुर्जाबासीले फागुन महिनामा समेत हिमपातको सामना गर्नुपरेको स्थानीयको भनाई छ ।

अत्याधिक चिसोका कारण खर्कमा रहेका पशुचौपायालाई बस्तीबाट खर्क तफै लैजाने तयारीमा रहेका स्थानीयले प्रतिकुल मौसमले समस्या भएको बताए । यसैविच मंगलबार विहानदेखि परेको बर्षाका कारण जिल्लाको सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रको जनजिवन प्रभावित बनाएको छ । सिमसिम पानी संगै धवलागिरी गाउँपालिकाको लुलाङ, मुदी लगाएत रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो बस्तीमा हिमपात भएको छ ।

Leave a Reply