बेनी नगरपालिका–३,भकिम्लीकी नौमायाँ किसानले दलित भएकै कारण कोठा भाडामा पाइनन् । उनले घरधनीबाट पटक–पटक कुन जाती भन्ने प्रश्नको जवाफ दिनुपरेकोे छ । म्याग्दी बहुमुखी क्याम्पसमा बिएड दोस्रो बर्षमा अध्ययनरत किसानले पर्वतबेनीमा बस्दै आएको कोठामा आफन्त आउने जानकारी गराएपछि खाली कोठा भएको घरमा भाडाभन्दा पहिले कुन जाती हो ? भन्दै प्रश्न गरेको बताईन् । ‘खाली कोठा देखाएर दलित भएकै कारण पाईन्,‘सहरबजारमा दलितले कोठा पाउन पनि मुस्किल रहेछ’ किसानले भनिन् ।

उनले अहिले बस्दै आएको घरधनीबाट राम्रो ब्यवहार पाएपनि नयाँ कोठा खोज्नु फलामको चिउरा चपाएजस्तै भएको गुनासो गरिन् । ‘दलितको नाममा घर भाडामा दिइएन, दलितलाई कोठा दिदाँ अनिष्ट हुन्छ सम्म भन्नेहरु भेटिए’ किसानले भनिन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३,वारीबेनीमा बुद्धिमायाँ पाईजाको घरमा बस्दै आएकी किसानले दुईबर्षसम्म उक्त घरमा बस्दा छुवाछुतको कुनै महसुस नगरेपनि नयाँ कोठा खोज्दा दलित भएकै कारण नपाएको बताईन्।

‘मैले बाल्यकालमा सुनेको थिए,दलितहरूलाई सहरबजारमा बस्ने बास पाइदैनन्,‘आफुँले नै समस्याबाट पीडित भए’ उनले भनिन् । गाउँको जयन्ती माविबाट एसइई दिएर उच्च शिक्षाका लागि बेनी आएकी किसानले समाजमा परिर्वतनका चर्को नारा लगाउनेहरूले दलितहरूमाथि जातीय विभेदलाई नदेखेको गुनासो गरिन् ।‘क्याम्पसमा पढ्ने विद्यार्थीले दलित भएकै कारण जागिर पाउँदैनन्,‘पैसा तिरेर कोठा भाडामा पाइदैनन्,‘मेरो जस्तो सयौं समस्याहरू सहरभित्र लुकेका छन्’ उनले भनिन् ।

उनले दुईपटक कोठाको खोजीमा जाँदा एउटै प्रश्नको जवाफ दिनुपरेपछि गुनासो पोखेको बताईन् । ‘शिक्षित मान्छेहरू बस्ने बजारमा जातिय छुवाछुतले जडा गाडेर बसेको छ,‘मैले भोगेको समस्यालाई लुकाउँदा धेरैले यस्तै पीडा खेप्नुपर्छ’ उनले भनिन् । घरमा मन्दिर हुने, धारा एउटै भएकाले देउता बस्ने ठाउँमा र ठूला जातिले प्रयोग गर्ने पानी प्रयोग गर्न नमिल्ने भन्दै कोठा दिन इन्कार गरेको किसानको गुनासो छ ।

‘घरधनीको ज्यादतीलाई प्रहरीसमक्ष लैजाने प्रयास गरिन्, अब मैले जातिय विभेद बिरुद्धको अभियानमा समय दिन्छु’ उनले भनिन् । आर्थिक रुपमा विपन्न परिवारमा जन्मिएकी किसानले कोठा भाडा तिर्न समेत मुस्किल छ । कोठा नपाएपछि गाउँमा आमा मनरुपा किसानलाई फोन गरेर समस्या सुनाउँदा आँसु खसेको बताईन्। ‘एकदिन भातै नखाई सुते,‘गरिब र दलितलाई ठाउँ नहुने सहरमा बस्न धेरै मन लागेको छैन’ उनले भनिन् ।

उनले भाडावापत बैना दिइसकेका केही विद्यार्थीले दलित भएकै कारण बैना फिर्ता गरेको गुनासो समेत दलित अगुवाहरुको छ । सार्वजनिक नभएपनि अदृश्य रूपमा छुवाछूत कायमै रहेको भकिम्लीका अगुवा रामबहादुर किसानले बताए । ठूलो जातका अधीनमा रहेको बस्तीमा छुवाछुत विरूद्धका कुरा उठाउन नसक्ने अवस्था रहेको बताए । दलितलाई विभेद गर्न नहुने भन्दै बार्षिक करोडौं बजेट आउने भएपनि समाजमा परिवर्तन नदेखिएको उनको भनाई छ ।

नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हकलाई मौलिक हकमा राखेको छ । कुनै प्रकारको भेदभावपूर्ण व्यवहार, बहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने उल्लेख गरिएको छ ।
बेनी नगरपालिका–३,भकिम्लीकी नौमायाँ किसान ।

शिक्षकलाई नै छोइछिटो

सदरमुकाम बेनी नजिक रहेको एक सामुदायिक विद्यालयका दलित शिक्षकले सहकर्मीबाटै भोगेका छुवाछूतका घटना अनगिन्ती छन् । विद्यालयभित्र चिया, खाजा खाने क्रममा उनले भोगेका समस्याहरु बताएपनि नाम समय आएपछि सार्वजनिक गर्ने बताए । कथित उपल्लो जातिका शिक्षकहरुले शिक्षण विधिका बारेमा सिक्ने क्रममा सँगै बस्ने, शैक्षिक गतिविधिमा सहयोग माग्ने गरेपनि पानी, चिया पियने क्रममा उनलाई छुट्टै गिलास दिन्छन् ।

‘मैले भोगेको समस्याहरु नै छुवाछूतको दरिलो उदाहरण हो,‘विद्यालयमै छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । विद्यालयमा हुने छुवाछूतको घटनाले विद्यार्थीमार्फत समुदायमा समेत पुग्ने बताउँदै सरकारको कठोर कदम आवश्यक रहेको बताए । ‘मैले सहकर्मीको बिरुद्धमा बोल्न सक्छु,‘अहिले नै उजुरी प्रक्रियामा जाँदा विद्यालयमै असर गर्छ’ उनले भने ।

समुदायमा आर्थिक रुपमा मजबुद दलितलाई उपल्लो जाति सरह ब्यवहार हुने गरेपनि विपन्न व्यक्तिले छुवाछूत सहनुपरिरहेको छ । विभेदकै कारण विद्यालयमा चिया र पानी समेत प्रयोग गर्न समस्या हुने गरेको उनको गुनासो छ । ‘एकपटक वडाअध्यक्षसँग गुनासो गर्छु,‘उहाँबाट पनि सहयोग नपाए, अर्को विद्यालयमा जान्छु’ उनले भने ।

उनले आफ्नै समुदायभित्रको जातीय विभेदले समेत समस्या जटिल भइरहेको बताउँदै विद्यालयबाट विद्यार्थीमार्फत जातिय विभेद अन्त्यको सपना देखेपनि आफुँ नै पीडित हुनपरेको गुनासो गरे । पाको पुस्तामा विभेदलाई बेवास्ता गरेपनि शिक्षकबाटै हुने विभेदले मुटु चसक्क दुखेको उनको भनाई छ । जातीय भेदभाव सधैंका लागि अन्त्य गर्न सचेतनामूलक कार्यक्रमले मात्रै सम्भव नभएको शिक्षकको भनाई छ ।

Leave a Reply