भारतीय सेनाको जागिरपछि स्वेदश फर्केका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन् । २ वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरूआत गरेका उनले शुक्रवारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् ।

बागलुङ नगरपालिका–३ का ४० वर्षीय उनी सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त भएका थिए । ‘थप पद लिनलाई जागिर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो,’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा बसेर केही गरौं भन्ने सोचले व्यवसायतिर लागें ।’

 

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शुक्रवार शुभारम्भ गरेको ‘क्याफे’मा चिया, कफीका साथै रेस्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।

उनले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो समय होटल, रेस्टुराँमा लगानी बढेको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो।’

व्यवसायसँगै गीत, संगीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिएका छन् । यहाँका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उनले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।रासस

Leave a Reply