नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा रजतजयन्ती तथा ११औं राष्ट्रिय विस्तारित भेला हुन लागेको छ । यही फागुनको २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुन गैरहेको रजतजयन्ती तथा विस्तारित भेलाको आइतबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

विस्तारित भेलाको नारा भने ‘अधिकारसम्पन्न एकीकृत मगरात भूमिसहितको स्वायत्तता, वैज्ञानिक व्यवहारिक सङ्घीय शिक्षा प्रणालीको पक्षमा ११औं राष्ट्रिय विस्तारित भेला’ भन्ने तय गरिएको नेपाल मगर विद्यार्थी संघले जनाएको छ । पत्रकार सम्मेलनमा मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विष्णुकुमार थापा मगरले रजतजयन्ती तथा विस्तारित राष्ट्रिय भेलाका लागि विभिन्न समितिहरु बनाएर तयारीलाई अगाडि बढाइएको जानकारी दिए ।

उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रचारप्रसार र आर्थिक सङ्कलनको कार्यलाई तीव्रता दिइएको बताउँदै हिमाली जिल्ला म्याग्दीको वस्तुस्थिति, समाज र संस्कृति बुझ्न तथा अन्य ठाउँको संस्कृतिलाई पनि देखाउन म्याग्दीमा घुम्ती कार्यक्रम अन्तर्गत विस्तारित भेला आयोजना गरिएको बताए ।

उनले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि आवश्यक प्रचारप्रसारसहित कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रमको अवसरमा बक्तृत्वकला, निबन्धलेखन र सामूहिक नृत्यलगायत प्रतियोगिताहरु सञ्चालन गरिने बताएका छन् ।

संघका अध्यक्ष थापा मगरले कार्यक्रममा पूर्वको हुर्रानाच तथा पश्चिमको झ्याउरे नाचसहित लोपोन्मुख कला, संस्कृतिको प्रदर्शनी गरिने जानकारी दिँदै जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रमको उद्घाटन गृहमन्त्री रामबहादुर थापामार्फत गराउने तयारी गरिएको बताए । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि कुल नौलाख ७० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलन कार्यक्रमको संघका महासचिव प्रेम रोकामगरले सञ्चालन गरेका थिए ।

Leave a Reply