बेनी नगरपालिका–८ जलेश्वरका इन्द्रबहादुर बरुवालको मेसिन रिडेबल राहदानी फाराममा दुई पटकसम्म जिल्ला प्रशसन कार्यालयमा फर्कियो। नागरिकता, हस्तलिखित राहदानी नम्बरसँगै परराष्ट्र मन्त्रालयले जारी गरेको राहदानी निर्देशिकामा तोकिएको मापदण्ड अनुसारका सम्पूर्ण विवरण भरेर पठाए पनि ६ महिनाको अन्तरालमा दुई पटकसम्म राहदानी विभागले फाराम अस्वीकृत गर्‍यो।

दुई पटकसम्म अस्वीकृत भएपछि बुझ्ने क्रममा बरुवालको राहदानी नम्बर अर्को व्यक्तिले प्रयोग गरेको भेटिएको छ। वि.स २०६३ सालमा बरुवालको ३६२०७०५ नम्बरको राहदानी नम्बर मालिका गाउँपालिको रूम गाउँका रामु विकले एमआरपीमा प्रयोग गरेको भेटिएको हो।

बरुवालको राहदानी  नं बिकले प्रयोग गरी वैदेशिक रोजगारमा गएपछि आवश्यकता महसुस गरी एमआरपी निकाल्न खोज्दा राहधानी विभागको गम्भीर लापरबाही देखिएको छ। ‘मैले पटकपटक प्रयास गर्दा पनि राहदानी पाएको छैन,‘प्रयोगकर्तालाई खोज्दा समेत भेटिएनन्’ बरुवालले भने। उनले अति आवश्यकता महसुस गरी जिल्ला प्रशासनमार्फत राजश्वसमेत तिरेर फारम पठाउँदा फर्किएपछि त्रुटि भेटिएको बताए। ‘एउटा घुम्ने अवसर नै गुम्यो,‘मैले मेरो राहदानी नम्बर पाउनुपर्छ’ बरुवालले भने। बेनपा–९ गलेश्वर आर्दश माविका शिक्षक बरुवालले सरकारी निकायको लापरबाहीले आफ्नो योजनाहरु चकनाचुर भएको बताए।

उनले आफ्नो नम्बर प्रयोग गरेकाको खोजीमा वडाका जनप्रतिनिधिमार्फत प्रयास गर्दा वैदेशिक रोजगारमा गएको बताएपछि पुनः फारम पठाउँदासमेत फिर्ता भएको गुनासो गरे। एउटाको राहदानी  नंम्बरमा अर्कोले प्रयोग गर्ने र वैदेशिक रोजगारमा गएको भन्दै अन्यायमा परेको बताए। समयमा एमआरपी नपाएको, अनावश्यक समय र पैसाको खर्च भएको उनको भनाई छ। जिल्ला प्रशासनबाट सहयोग मिलेपनि राहदानी विभागबाटै बेवास्ता भएको उनले बताए।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले टाँसिएका फोटो, विवरणमा त्रुटि देखिएपछि परराष्ट्र मन्त्रालयबाट राहदानी फारामहरू फिर्ता हुने गरेपनि यस्तो समस्या पहिलोपटक सुनेको बताए। ‘उहाँको समस्याका बारेमा तत्काल बुझ्ने छु,‘समस्याको समाधानको प्रयास गर्छु’ प्रजिअ ढकालले भने। जिल्ला प्रशासनबाट बरुवाल र विकले एकैदिन नागरिकता लिएको पत्ता लागेको छ।

पीडित इन्द्रबहादुर बरुवालको हस्तलिखित राहदानी ।

Leave a Reply