हरिकृष्ण गौतम/ १२ वैशाख २०७२ को विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक, इन्द्रवाती गाउँपालिका वडा नं ५, बाडेगाँउ धुसिनीमा जेठी छोरी अनुस्का दाहाललाई गुमाएका ३५ बर्षिय अर्जुन दाहालको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बेनी–जोमसोम ७६ किलोमिटर सडक खन्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिका–४, घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामासुख्खा पहिरो खसेर ज्यान गयो ।

सोमबार दिउँसो साढे चार बजे सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटरसँगै खसेर दाहालको मृत्यु भयो। विपन्न परिवारका दाहालले भूकम्पमा छोरीको ज्यान गुमाएपछि विदेशबाट फर्किएर नेपालमै निर्माणको क्षेत्रमा काम गर्न थाले। छोरीलाई भूकम्पले एकै गाँस बनाइदियो, बुबाआमा रेशम बहादुर, माहिनी र श्रीमती रुकमणी घाईते भईन्।

घर भूकम्पले कचाककुचुक भयो, छोरीलाई ठूलो मान्छे बनाउने सबै सपना चकनाचुर भए। दाहाल परिवार सम्हालिन धेरै कठिन भयो। चारबर्ष अगाडी छोरी जन्मिएपछि अर्जुनको जिम्मेबारी बढ्यो। ठूलो छोरी अनुस्काको छायाँ सम्झिएर पुरानै सपनालाई साकार बनाउने भन्दै अपरेटरको काम सुरू गरे । सडक, कडा चट्टानमा जोखिम मोलेर काम गरिरहेका अर्जुनले छोरी र परिवारलाई बुनेको सपना घाँसाको डाँडाबाट कालिगण्डकीमा पोखियो।

भुरुङ तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीमा आवद्ध भएको १ महिना १५ दिनमै दाहालको मृत्यु भयो । स्काभेटरसँगै नदीमामा खसेका अर्जुनको शब मंगलबार विहान करिव ९ बजे पोष्टमार्टमका लागि मुस्ताङ अस्पतालमा पु¥याइएको छ ।

मतृक दाहालको शब सहकर्मीले जोखिम मोलेर निकालेका थिए । ‘उनी परिवारको सपना पुरा गर्न यहाँ आएका थिए,‘इमान्दारिताका साथ जोखिम मोलेर काम गरिरहेका थिए’ सिन्धुपाल्चोकका हिरा माझीले भने । इमान्दार, अनुभवी र मेहनती सहकर्मीलाई गुमाउनुपरेको उनको भनाई छ ।

कम्पनीले क्षतीपूर्ती दिन आनकानी

मृतक दाहाललाई बिमा वापतको ५ लाख, कृयाखर्च मात्रै उपलब्ध गराउने भन्दै कम्पनीले पीडित परिवारलाई क्षतीपूर्ती दिन आनकानी गरेको मृतकका आफन्तले गुनासो गरेका छन् । कम्पनीले दाहालको दुर्घटना यता पीडितका न्यूनतम मागलाई समेत पुरा नगर्ने संकेत देखाएको एक आफन्तले बताए । ‘बिमाको पैसा दिएर उम्किने प्रयास गर्दछन्,‘भीरमा काम गरेर ज्यान गुमाउनेलाई समेत अपमान गर्दछन्’ उनले भने ।

दुर्घटनाको जानकारी पाएलगत्तै आफन्तहरू पुगेका थिए । ज्यान हत्केलामा राखेर कम्पनीको काम गर्दा समेत कृयाखर्च दिएर टार्ने प्रयास गरिएको भन्दै मृतक दाहालका सहकर्मीहरु समेत आन्दोलित भएका छन् । मृतक दाहालकी श्रीमति बेहोश र घरमा रुवाबासी चलेको छ । मृतकका आफन्तले एउटा छोरीको उच्च शिक्षासम्मको ग्यारेन्टी सहित क्षर्तीपुती माग गरेका छन् ।

यसका बारेमा काठमाण्डौमा समेत पुगेर जानकारी गराउँदा समेत बेवास्ता भएपछि निर्माणधिन अवस्थामा रहेको सडकमा कार्यरत स्काभेटर अप्रेटरले समेत कम्पनीलाई दवाव दिन थालेपछि अवरुद्ध बाटो समेत बुधबार सुचारु हुने सम्भावना देखिएको छैन् ।

म्याग्दी तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीको मात्रै १६ वटाभन्दा धेरै स्काभेटर छन् । सहकर्मीको मृत्युमा क्षर्तीपुर्ती दिन आनकानी गरेपछि अन्य स्काभेटरका अप्रेटरले समेत असुरक्षित महसुस गरेको कम्पनीका एक अप्रेटरले बेनीअनलाइनलाई बताए ।

‘कम्पनीले उचित क्षतीपुर्ती नदिए काम रोक्छौ, आवश्यक परे छोडेर जान्छौ’ उनले भने । सांकेतिक आन्दोलन सुरु भइसकेको उनको भनाई छ । बेनी–जोमसोम सडकखण्डमा भिर कटिङ गरेर ग्रेड डाउन गर्ने तथा सडक चौडा गर्दा विगतमा समेत अप्रेटर घाईते हुने र यात्रुको ज्यान गएको छ ।

 

Leave a Reply