जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोराना भाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रमलाई रोक लगाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारावाला निकायको बैठकले अर्को सुचना जानरी नभएसम्म स्वीकृति प्रदान नगर्न सहमति लिएर सञ्चालनको तयारी गरिरहेको अवस्थामा समेत रद्ध गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना नेपाल समेत उच्च जोखिममा परेपछि सार्वजनिक कार्यक्रममा कडाई गरिएको बैठकको निर्णय सुनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बेनीअनलाइनलाई बताए । ‘कोराना भाइरस बिरुद्धको सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिइएको छ,‘फागुपुर्णिमा समेत सर्तकता अपनाउन अपिल गरिएको छ’ उनले भने ।

जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी लगायतको उपस्थितीमा भएको छलफलमा संक्रमणको जोखिममा रहेकालार्ई बेनी अस्पतालमा क्वरेन्टाइनमा राखेर समेत उपचारको ब्यवस्था मिलाइने भएको छ ।

सोही अवसरमा बेनीबजारमा जुवातास, घरेलु मदिराको बिक्री वितरण लगायतका गतिविधि बारेमा सुचना प्राप्त भएकाले कडाईका साथ नियन्त्रण गरिने भएकाले सहयोग गर्न अनुरोध गरिएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालायले मतदाता नामावली अद्यावधीतथा नयाँ दर्ता गर्ने कार्यमा समेत सहयोग गर्न राजनीतिक दललाई अनुरोध गरिएको छ । बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले गरेका थिए । सूचनालाई अवज्ञा गरी निर्णय विपरितका काम गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने प्रजिअ ढकालले बताए ।

Leave a Reply