नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । नेकपा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न तेस्रो पूर्ण वैठकले आउँदो चैत १ गतेदेखि जेठ मसान्तसम्म विभिन्न कार्यक्रमहरुसहित पार्टीको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा म्याग्दीले केन्द्रीय कमिटीको निर्णय तथा गण्डकी प्रदेश कमिटीको विशेष निर्देशन अनुसार जिल्लाभर तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । उक्त अभियानका लागि बेनी नगरपालिकामा हरिकृष्ण श्रेष्ठ र देवबहादुर घले, अन्नपूर्ण गाउँपालिकामा देवेन्द्रबहादुर केसी र कुलबिर राम्जाली, रघुगंगामा विनोद केसी र बालकृष्ण सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी मंगलामा टेकबहादुर विक र देवराज सुवेदी, मालिकामा रेशम जुग्जाली, धवलागिरीमा नवराज शर्मा र थमसरा पुनलाई जिम्मेवारी तोकिएको नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन महिने अभियानमा जिल्ला सचिवालय सदस्य र जिल्ला कमिटी सदस्यहरु पनि सम्बन्धित स्थानीय तहमा हुने पार्टीको कार्यक्रममा खट्ने भएका छन् ।

सो अभियान अन्तर्गत चैत १ गते म्याग्दी सदरमुकाम बेनीमा सरसफाई कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिने नेकपा अध्यक्ष पौडेलले बताए । जिल्लाको ६ ओटै स्थानीय तहमा आउँदो शनिबार एकैदिन पार्टीको नगर तथा गाउँपालिका कमिटीको पूर्ण वैठक आयोजना गर्ने, चैत १० गतेभित्र नगर तथा गाउँपालिकाको वैठक गर्ने, चैत मसान्तभित्र ६ ओटै स्थानीय तहमा पार्टीको कार्यालय व्यवस्थापनसहित कार्यालय सचिव तोक्ने, चैत ७ गते रघुगंगा, मंगला र धवलागिरी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको नेकपा म्याग्दीले जानकारी दिएको छ ।

त्यस्तै चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा जेठ मसान्तसम्म नयाँ सदस्यता विस्तार गर्ने, चैत २१ गते वडा तथा गाउँ कमिटीबीच अन्तत्र्रिmया, २७ गते जिल्ला कमिटी र स्थानीय पार्टी कमिटी, २८ गते गाउँ तथा नगर कमिटी र २९ गते जिल्ला प्रदेश सांसद तथा संघीय सांसदका बिचमा अन्तत्र्रिmया कार्यक्रम गरिने भएको छ । त्यसैगरी चैत १० गतेभित्र बाँकी रहेका जनवर्गीय सङ्गठनहरुको एकता घोषणा र अन्यले पालिकास्तरीय वैठकको आयोजना गर्ने निर्णय गरिएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताए ।

गाउँपालिका तथा वडाका वैठक र राजनीतिक–वैचारिक प्रशिक्षण आगामी बैशाख महिनाभित्र गरिसक्ने, पार्टी सदस्यता नवीकरण तथा विस्तारका लागि बेनी नगरपालिकामा २ जनाका दरले तथा गाउँपालिकाहरुमा ५ जनाका दरले कार्यदल गठन गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।

पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने रहेको छ । अभियानका उद्देश्यहरु पार्टी र जनवर्गीय सङ्गठनलाई सुदृढ बनाउने तथा वर्तमान सरकारले गरेका कामलाई जनतामाझ पु¥याउनेलगायत विभिन्न ९ ओटा बुँदाहरु रहेका छन् ।

Leave a Reply