म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न पसलहरुले व्यापार व्यवसायका नाउँमा सडक अतिक्रमण गर्न थालेपछि घरदैलो अभियान सुरु भएको छ । बेनीमा रहेका फेन्सी, तरकारी, हार्डवयर, किराना, मोबाइल लगायतका पसलहरुले सडक पेटी अतिक्रमण गरी सामान राखेपछि हटाउनका लागि अभियान थालिएको हो ।

व्यापारीहरुले सडक पेटीमा सामान राख्नुका साथै होर्डिङ बोर्ड समेत राखेर अतिक्रमण गरेका छन् । यसका साथै घरको छतभन्दा बाहिरसम्मै जस्तापाताको छानो हालेर सामान झुण्ड्याउने र व्यापार गर्न थालेपछि यस्तो अतिक्रमणलाई हटाउन पहिलो चरणमा घरदैलो गरेर सचेत बनाइएको छ ।

अभियानका क्रममा घर तथा भवन निर्माणमा प्रयोग हुने रड, सिमेन्ट, इट्टा, बालुवा जस्ता सामग्रीहरु पनि सडक छेउमै थुपारेर राख्ने गरेको भेटिएको छ । मङ्गलबार बेनी नगरपालिका, जिल्ला प्रशासन तथा प्रहरी कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ, वडा कार्यालयको टोलीले बेनीबजारको स्थलगत अनुगमन र निरीक्षण गरी सडक पेटीमा राखिएका सामानहरु हटाउन निर्देशन दिइएको छ ।

उद्योगी व्यापारीहरुले सडक पेटीसम्मै सामग्रीहरु राखेर बिक्री वितरण गर्न थालेपछि अनुगमन गरेर हटाउन निर्देशन दिइएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सडक पेटी अतिक्रमणका कारणले गर्दा सहज यातायात व्यवस्थापन तथा आवतजावतमा समस्याले दुर्घटनाको जोखिम बढेका हुँदा सामान हटाउन पहल गरिएको छ ।

त्यसै पनि बेनीबजार आफैमा सानो छ । यसैमा साँघुरा सडक तथा गल्ली, सर्वसाधारणको चाप र ट्राफिक जामका कारणले गर्दा पछिल्लो समय दुर्घटनाको जोखिम ह्वात्तै बढेको पाइन्छ । ट्राफिक सचेतनाको अभावमा सर्वसाधारणको अज्ञानता, जथाभावी ठेलागाडा, विद्यालयका बस, निजी सवारीसाधनले पनि भीडभाड बढ्नुका साथै दुर्घटनाको जोखिम बढाएको छ ।

सडक पेटी अतिक्रमण बन्द गर्न पहिलोपटक उद्योगी व्यापारीहरुलाई सचेत बनाउँदै सामान हटाउन निर्देशन दिइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । पहिलोपटक सामान हटाउनका लागि गरिएको निर्देशनको अवज्ञा गरेमा मालसामान जफत गर्ने र आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाइने समेत उनले बताएका छन् ।

सडक पेटीमाथि भएको अतिक्रमण हटाउने अभियानमा नगर प्रमुख श्रेष्ठ, प्रजिअ ढकालसहित बेनपाका उपप्रमुख सन्जु बरुवाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँबर, प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा, बेनपाका प्रवक्ता एवं ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्य, नगर कार्यपालिका सदस्य टकसरा राना, वडा सदस्यद्वय हिमबहादुर भण्डारी र हिरा पुन लगायतको सहभागिता रहेको थियो ।

टोलीले बेनीबजारको बालमन्दिरचोक, बैंकरोड, सङ्गमचोक, गणेशटोल, क्याम्पसचोक, पिपलचोक, हस्पिटलचोक र कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरी सडक पेटीमा राखिएका सामानहरु हटाउन निर्देशन दिइएको थियो । यता व्यापारीहरुले भने सडक अतिक्रमणलाई हटाउन नियमित रुपमा बजार अनुगमन गर्न सरोकारवालासँग माग गरेका छन् । व्यापारीले सडक पेटीमा सामान राखेपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।

Leave a Reply