सुशीलबाबु थकाली, हिमाली जिल्ला मुस्ताङ विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका कारण चर्चित छ । यहि पर्यटकीय स्थलहरुको अध्ययन अवलोकनका लागि बर्षेनी हजारौं पर्यटकहरु मुस्ताङ घुम्न आउने गर्छन् । वर्षेनी हजारौंको संख्यामा मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि मुस्ताङ यात्रा आफैमा जोखिमपूर्ण रहेको छ ।

यद्यपि धार्मिक जनविश्वासकै कारण जस्तोसुकै कठिनाई परेपनि मुस्ताङ घुम्न आउने पर्यटकहरुको संख्यामा भने कमी आएको छैन । देश तथा बिदेशबाट मुस्ताङको विभिन्न स्थानहरुमा आइपुग्न जति कठिनाई छ, त्यतिनै यात्रुहरुमा दृढ आत्मविश्वास पनि छ । मुलुकका विभिन्न ठाउँहरु छिचोल्दै मुस्ताङसम्म आइपुग्न सुन्दा जति सहज लागेपनि म्याग्दीको बेनीदेखि जोमसोमसम्म आइपुग्न मात्रै ५ देखि ६ घण्टा लाग्छ ।

करीब ७६ किलोमिटर यात्रा पार गर्न पनि पट्यार लाग्दो रहेको यात्रुहरुको गुनासो छ । बहुचर्चित बेनी–कोरला सडक स्तरोन्नतीको काम सुरु भएको पनि साढे तीन बर्ष हुन लागिसकेको छ । तर, अप्ठ्यारो भूगोलकै कारण समयमा काम सम्पन्न हुन सकेको छैन ।

विभिन्न निर्माण कम्पनीले जिम्मा पाएको सडकहरु सोचेकै जस्तो पनि हुन सकिरहेको छैन । जसको कारण समय समयमा भइरहने छिटफुट घटना र समस्याहरु छिचोल्न यात्रुहरुलाई मात्र होइन सम्बन्धित निर्माण कम्पनीलाई समेत हम्मेहम्मे परिरहेको छ ।करीब ७६ किलोमिटर बेनी–जोमसोम सडकभित्र आइपर्ने विभिन्न समस्याकै कारण समय सीमाभित्र काम नसकेको निर्माण कम्पनीहरुको जिकिर रहेको छ ।

कडा चट्टान र नरम माटोबीचको असन्तुलन नै सडक निर्माणको मुख्य बाधक रहेको उनीहरु बताउछन् । २०६६ सालमा पूर्ण रुपमा बेनी–जोमसोम सडक सूचारु भएको थियो । तर, दशक वितिसक्दा पनि पर्यटकहरुलाई वर्षेनी सास्ती मात्रै थपिदै आएको छ ।सोही वास्तविकतालाई आत्मसात गर्दै समाज सेवाको सपना आँखाभरी सजाएर सँधै लागिपरेका व्यक्ति हुन्, इन्द्रसिंह शेरचन । राति मोबाइलको घण्टी बज्यो र यात्रु मर्कामा परे भने पनि दौडिहाल्ने उनी सबैको भगवान् हुन् ।

शेरचन आफ्नो पेसा भन्दा पनि समाजसेवालाई माथि राखेर रातदिन खटिरहने व्यक्ति हुन् । जसको कारण उनलाई चिन्ने मान्छेहरु पनि धेरै छ । स्थाई घर मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा भएपनि पेसाले उनी पर्यटन व्यवसायी हुन् ।

यतिमात्र होइन, उनी होटल व्यवसायमा दख्खल भएको व्यक्ति पनि हुन् । दुई दशक भन्दा लामो समय होटल व्यवसायमा व्यतित गरिसकेका शेरचन व्यवसायकै सिलसिलामा आजभन्दा १७ बर्ष अगाडि बेनी झरेका थिए ।

करीब १२ बर्ष भन्दा बढी बेनीको कालीपुलमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन ५ वर्ष अघि मात्रै पोखराको लेकसाइडमा आफ्नो जिल्लाको पहिचान रहने गरी थकाली भान्छा घरको सुरुवात गरे ।

थकाली भान्छालाई देश तथा विदेशमा चिनाउनुपर्छ भन्ने अभिप्रायले लागिपरेका शेरचन करीब १ बर्ष भन्दा बढी पोखराको लेकसाइडमा पनि होटल व्यवसाय गरेका हुन् । आफ्नो जिल्ला र गाउँको नाम जोडेर ‘मुस्ताङ लेते होटल एण्ड थकाली भान्छा घर’ खोलेको दुई दशक पुग्न लागेको छ ।

तर, उनलाई आफ्नै गाउँ ठाउँको माया र मोहले तान्यो, त्यसपछि म्याग्दीको दानामा सुरु गरे थकाली भान्छा घर । भेटघाटको क्रममा उनले आफ्नो दुख भन्न नचाहने तर, सँधै समाजसेवा गर्नुपर्छ, भन्ने सन्देश दिन्छन् । अहिले पनि उही ट्याग राखेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा होटल व्यवसाय गर्दै आएका छन् ।

छोटो समयमै आफूलाई स्थापित गर्न सफल शेरचन रातदिन सडकको काममा दौडिरहन्छन्, जसका कारण उनलाई होटलमा भन्दा बढी बाटोमै नै देख्न सकिन्छ । यतिमात्र होइन उनी बेनी–जोमसोम सडक खण्ड अन्तर्गतको मुख्य सुपरभाइजर समेत हुन् ।

उनी भन्छन्, ‘मलाई समाजसेवा गर्ने वातावरण नै यहि पेसा हो । अप्ठ्यारोमा परेका यात्रुहरुलाई उद्दार गर्न पाउँदा मनमा आनन्दको महसुस हुन्छ ।’

साढे तीन बर्ष भन्दा बढी सुपरभाइजरको जिम्मा सम्हालेका शेरचन अहिले पनि सडककै काममा व्यस्त छन् । सवारी चालकहरु गाह्रो÷अप्ठ्यारोमा पर्दा सबै भन्दा पहिले शेरचनलाई नै सम्झिन्छन् । कतै सवारी जाममा परेको छ र गन्तव्यमा चाँडै पुग्नुछ भने पनि शेरचनलाई सम्झिन्छन् ।

तीन वर्ष अगाडिको बेनी–जोमसोम सडकखण्ड र अहिलेको बेनी–जोमसोम सडकखण्डमा आकाश पतालको फरक छ । शेरचनले आफ्नै आँखा अगाडि कयौं डरलाग्दा घटनाहरुको सामना गरेका छन् । शेरचनका लागि अहिले विगत र वर्तमान जे जस्तो भए पनि अब भने ती दिनहरु नदोहोरियोस् भन्न चाहन्छन् ।

गत भदौ महिनामा मात्रै उनले दुई सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफ्नै पिँठ्युमा बोकेर डरलाग्दा भिरबाट उद्दार गरेका छन् । त्यस्तै कयौं घाइतेहरुका लागि तुरुन्तै हेलिकप्टरबाट उद्दार गर्ने मेलोमेसो मिलाएका छन् ।

तर, जीवनका सबै भोगाईहरु समाजसेवासँग मात्र जोड्न नमिल्ने शेरचनको भनाइ छ । उनी भन्छन्, ‘सबै कुरा समाजसेवा मात्र होइन, मानवतासँग पनि जोडिएको हुन्छ । मैले जीवनमा कति सम्पत्ती कमाए भन्नु ठूलो कुरा भएन ।’

त्यस्तै उनले थपे, ‘मैले उद्दार गरेको धेरैजसो पर्यटकहरु आशिर्वाद दिएर जान्छन् । त्यहिनै मेरो लागि सबैभन्दा ठूलो सम्पत्ती हो ।’

गत सोमबार पनि बेनी जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घैकु भिर काट्ने क्रममा ठूलो घटना घट्यो । करीब ४ दिनसम्मको अबरुद्ध सडक छिचोल्न पर्यटकहरुलाई हम्मेहम्मे परेको थियो ।

त्यतिबेला पनि शेरचन नै उद्दारकर्ताको मुख्य पात्र थिए । अप्ठ्यारा भिरहरुमा पर्यटकलाई बोकेर वारपार गर्नु सजिलो थिएन ।

हो, उही मुस्ताङको माटोमा जन्मिएका थकाली मुलका एक इमान्दार छोरा आज सबैका लागि प्रेरणाको श्रोत भनेका छन् ।

सयौं आन्तरिक तथा बाह्य पर्यटकको लागि बैशाखी हुन् ‘इन्द्रसिंह शेरचन’ । किनकी अरुको दुखमा रमाउन सक्ने एकमात्र महान् व्यक्ति हुन् इन्द्रसिंह शेरचन । Source: New24nepal.tv

Leave a Reply