केही समय अगाडी बेनी नगरपालिका–९, गलेश्वरको जेष्ठ नागरिक आश्रममा घाम तापेर बसेका बृद्धबृद्धालाई भेट्न पुगेकी जलजला गाउँपालिका–३, पर्वतबेनीमा अवस्थित न्यू होराईजन आवासीय माविमा कक्षा ३ की अस्मी विकले अर्कोपटक सहयोग लिएर आउने बाचा गरेकी थिईन् ।

माघ महिनाको २२ गते गलेश्वर मन्दिरको दर्शनसँगै आश्रममा बस्ने बृद्धबृद्धालाई विभिन्न जिज्ञासा राखेर भाबुक बनाएकी विकले शनिबार भोजनका लागि ५ हजार आश्रम ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिन्। ‘यो अन्तिम होइन्, फेरी पनि तपाईहरुसँगै आउँछु’ अस्मिले भनिन् । उनले विद्यालयबाट भ्रमणमा आएको बेलामा गरेको प्रतिबद्धतालाई जापानमा रहेका अभिभावकलाई सुनाएपछि आइतबार विहानको भोजनलाई लाग्ने ५ हजार सहयोग गरेकी थिईन् ।

‘बृद्धआमा बुबा घरमा बस्नुपर्छ,‘आश्रममा बसेको देखेर दुख लाग्यो’ अस्मिले भनिन् । उनले हजुरबुबाआमा सम्झिएर समय मिलाएर आउने बताईन् । सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बालिकाको सन्देशबाट प्रभावित भएको बताए ।

‘उनी जस्तै सबै बालबालिकाले यो सन्देश दिन सकेमा आश्रमहरु खाली हुने थिए’ उपाध्यक्ष पराजुलीले भने ।सन्तानको पालनपोषण र स्याहारको अभावमा कतिपय बृद्धआश्रमा पुग्ने गरेकोे अवस्थामा बालिकाले अभिभावकमार्फत सहयोग जुटाएर भोजनको ब्यवस्था गरेपछि उत्साहित भएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले विद्यार्थीलाई कितावी ज्ञानसँगै ब्यवहारिक शिक्षालाई समेत मध्यनजर गरी अगाडी बढेको बताए ।

९ महिना गर्भमा राखेर हुर्काउने आमाबुबालाई सन्तानले तिरस्कार मानव जातिको सबैभन्दा खराव काम भएको बताउँदै विद्यालयबाट कक्षा ५ देखि माथिका विद्यार्थीलाई आश्रममा भ्रमण गराउने प्रतिबद्धता जनाए । उमेरमा हण्डर र कष्ट सहेर हुर्काएको छोराछोरीले नै उमेर ढल्केपछि अपहेलना गर्दा साहारा खोज्न आश्रममा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न बालबालिकालाई सन्देश दिनुपर्नेमा जोड दिए । आश्रममा करिव ६६ जना बृद्धबृद्धाको बसोबास रहेको छ ।

Leave a Reply