म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिर नजिक रहेको बधशालाबाट निस्केको फोहोरले आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको छ । बधशालाबाट निस्केको फोहोर उचित व्यवस्थापन नहुँदा बेनी–हाँडेभीर–बगरफाँटका साथै बथस्थल नजिक जाँदा दुर्गन्ध फैलिने गरेको छ ।

बेनी नगरपालिकाले स्वच्छ र स्वस्थ मासु बिक्री गर्न भन्दै बनाएको बधस्थल आसपासमा राँगा, भैँसीको बध गरेपछि निस्केको रगत म्याग्दी खोलामा बगाउने, छाला, हड्डी लगायतका फोहोर समेत सिधै खोलामा मिसाउने गरिएको स्थानीयले बताए ।

उक्त बधशालाबाट निस्केको फोहोर र दुर्गन्धले खोला आसपासका साथै हाँडेभिरको तलसम्म खोलामा छरपस्ट पशुका हड्डी देखिने स्थानीय बेलबहादुर कुटुवालले बताए । ‘बधशालाबाट निस्केको फोहोर र दुर्गन्धले हैरानी खेप्न बाध्य छौ’ उनले भने । नगरपालिकाले नै बनाएको बधशाल मापदण्ड विपरित भन्दै पटकपटक विरोध समेत भइरहेको छ।

बधशालाले फोहोर व्यवस्थापनमा भने खासै ध्यान दिएको छैन भने सरोकारवाला निकायले समेत अनुगमन गरेका छैनन्। हावा लागेको बेला र घाम लागेको तथा गर्मी समयमा दुर्गन्ध फैलिने भन्दै स्थानीयले बधशालामा आउनेलाई सचेत बनाउने गरेपनिसम्बन्धित निकायसमक्ष कुरा राख्दा समेत सुनुवाई नभएको गुनासो गरेका छन् । स्थानीय कुलदिप जुग्जालीले बधस्थललाई ब्यवस्थित बनाउन आवश्यक पहल गर्नुपर्ने बताउँछन् ।

बधस्थलको सरसफाइ, मासू ढुवानी, फोहोर व्यवस्थापनमा ध्यान नदिदाँ भविस्यमा थप दुर्गन्ध फैलिने उनको भनाई छ । तत्कालिन जिल्ला पशुसेवा कार्यालयको खुल्लामञ्च नजिक निर्माण गरिएको बधशालालाई उक्त ठाउँमा सारिएको थियो । पशु चिकित्सकबाट परीक्षण समेत नियमित नहुदाँ बेनीबजारमा विक्री हुने माशु मापदण्ड अनुसार नभएको जानकारहरु बताउँछन् । लुकिछिपी रोग लागेका भैसीहरुलाई समेत बधस्थलमा ल्याउने गरिएको छ ।

यता भेटेरनी अस्पताल तथा पशु विज्ञ केन्द्रका पशु सेवा प्राविधिक सुबास रेग्मीले नगरपालिकाले नै अनुगमन र कारवाही गर्न सक्ने बताए । उनले कार्यालयबाट मापदण्डका बारेमा जानकारी मात्रै दिन सक्ने बताए । कार्यालयले नगरपालिकाबाट अनुरोध भएमा पशुको स्वास्थ्य, पशु बध गर्ने तरिका, मासु छुट्याउने तरिका, सरसफाइ, भण्डारण र ढुवानी पक्ष, सरसफाइजस्ता आधारभूत पक्षका बारेमा अनुगमन गरी अवस्थाका बारेमा जानकारी गराउन सक्न्ने जनाएको छ ।

Leave a Reply