गाउँपालिकामा स्वास्थ्य तथा पोषणको अवस्था सुधार्न विभिन्न विषयहरु समोवश गरी प्रतिबद्धता जारी भएको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चिततासम्बन्धी गोष्ठीमा स्वास्थ्य, कृषि र शिक्षासम्बन्धी प्रतिबद्धता जारी गरिएको हो ।

मंगला गाउँपालिका, मिलन म्याग्दी र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा सञ्चालित उक्त गोष्ठीमा गाउँपालिकामा स्वास्थ्य र पोषणको अवस्था सुधार गर्नका लागि स्वास्थ्य, कृषि तथा शिक्षासँग सम्बन्धित विषयवस्तुहरुलाई समेटेर प्रतिबद्धता जारी गरिएको गाउँपालिकाले जनाएको छ । प्रतिबद्धतामा पोषण, स्वास्थ्य, कृषि, पशु, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका र सुशासनलगायत विषयहरु समावेश गरिएको छ ।

सो प्रतिबद्धतामा पोषणको अवस्था सुधार गर्नका लागि गाउँपालिकाले अद्यावधिक स्वास्थ्य नीति बनाई गर्भवती महिलालाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, पूर्ण संस्थागत सुत्केरी तथा पोषणयुक्त पालिका घोषणा गर्ने नीति लिइने उल्लेख गरिएको छ । यसैगरी आवधिक योजनामा पोषणका सूचकहरु स्वास्थ्य, कृषि, पशुसेवा, शिक्षा, खानेपानी तथा सरसफाई, महिला, बालबालिका र सुशासनलाई समावेश गरी तालिम सञ्चालन तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम गर्ने रहेको छ ।

त्यस्तै सबै विषयगत शाखाहरुमा गुणस्तरीय सेवा सुनिश्चित गर्न प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने नीति अपनाउने, पालिकामा खानेपानी, सरसफाई र स्वच्छताको स्थिति सुधार्नका लागि अद्यावधिक योजना बनाउन नेपाल सरकारको नीतिलाई अबलम्बन गर्ने जनाइएको छ । त्यसैगरी ‘सुरक्षित पानी र स्वस्थ घरधुरी’ भन्ने नारालाई सार्थक बनाई पूर्ण सरसफाइउन्मुख पालिका घोषणा गर्न सरसफाई नीति अबलम्बन गर्ने र ‘एक घर एक करेसाबारी, बाह्रै महिना हरियो तरकारी’ अभियान सञ्चालन गर्ने नीति अबलम्बन गरिने भएको छ ।

गोष्ठीको समापन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमलाई दीगो बनाउन प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । उनले पोषण तथा स्वास्थ्यको दीगोपना नभएसम्म विकासले गति लिन नसक्नेमा जोड दिँदै पालिकालाई समृद्ध र सुपोषित बनाउन गोष्ठीमा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए ।

दुई दिनसम्म सञ्चालित गोष्ठीमा पोषणको महत्व, औचित्य र आवश्यकता, विषयगत क्षेत्रहरुको विद्यमान अवस्था, स्वास्थ्य तथा पोषणमा गाउँपालिकाको परिकल्पना र लक्ष्य एवं स्थानीय सरकारको अपेक्षा, एकीकृत पोषण सेवाको दीगोपनाको सुदृढ प्रणाली, कार्ययोजना निर्माण एवं प्रस्तुतीकरण, प्रतिबद्धता र घोषणा, पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकमा प्रतिबद्धता अनुमोदन लगायतका विषयहरुमा सहजीकरण, छलफल एवं अन्तत्र्रिmया गरिएको थियो ।

गाउँपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य संस्थाका इन्चार्ज, स्वयंसेविकाहरु, मिलन म्याग्दी तथा सुआहाराका पदाधिकारी र कर्मचारी सहभागी गोष्ठीको मंगला गाउँपालिकाका शिक्षा संयोजक डेकबहादुर बानियाँ, कार्यकारी सचिव राजेन्द्र आचार्य, स्वास्थ्य संयोजक लेखनाथ रोका, सुआहारा कार्यक्रमका संयोजक चिरञ्जीवि दाहाल, वास अधिकृत टिका उप्रेती र फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरेका थिए ।

Leave a Reply