कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रले आसन्न श्रीमद्भागवत गीता ज्ञान महायज्ञ (व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम स्थगित गरेको छ ।

नेपाल सरकारको सचेतना, स्थानीय प्रशासनको अनुरोध एवं जनसमुदायको सुझाबलाई उच्च सम्मान गर्दै बेनी शाखाले आगामी फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म बेनीमा सञ्चालनको तयारी गरेको महायज्ञ स्थगित गरेको बेनी शाखाकी प्रमुख ब्रह्माकुमारी रीनाले बताउनुभयो । उहाँका अनुसार कोरना भाइरसको त्रासका बिचमा आवतजावतमा समेत समस्या हुने भएकाले प्रशासनसँग समन्वय गरी स्थगित गरिएको बताउनुभयो ।

व्यवहारिक एवं वैज्ञानिक प्रवचनमा म्याग्दीका ग्रामिण क्षेत्रमा रहेका सम्पर्क कार्यालय तथा विभिन्न विद्यालय, सामाजिक संघसंस्थाबाट समेत प्रतिनिधित्व हुने भएकाले केही दिनका लागि स्थगित गरिएको बताउनुभयो । समाजमा नैतिक शिक्षा दिने संस्थाका रुपमा स्थापित भएकाले प्रचारप्रसार सहितका कार्यक्रमहरुलाई समेत स्थगित गरिएको बताउँदै केहीदिनमा अर्को कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो । म्याग्दी जिल्लामा आध्यात्मिक ज्ञानको विस्तारका लागि १६ वर्षअघि शाखाका रुपमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र स्थापना भएको हो ।

Leave a Reply