आइतबार छिमेकी गाउँबाट जन्ती आउने तयारीमा थिए । विवाह मण्डप बनाएर जन्ती स्वागतको तयारीमा थिए बेहुलीका परिवार । विवाह घरमा सम्पूर्ण तयारी थियो । बेहुला–बेहुलीले प्रेमविवाह गरेर भागेकाले विवाह अभिभावका लागि बाध्यता जस्तै थियो । उमेर नपुगेका, तर विवाह गर्न लागेका जोडीको विवाह रोकिएको छ ।

बेहुलाको घरबाट हिड्ने तयारीमा रहेका जन्ती रित्तै फर्कनुपरेको छ । म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरका २१ वर्षीय किशोर र सोही गाउँपालिका वडा नं १ कुहुँकी १९ बर्षिया किशोरीबिच हुन लागेको बालविवाह बाल सञ्जालको सक्रियतामा रोकिएको छ । एक महिना अगाडी प्रेमविवाह गरेर भागीविवाह गरेका किशोरकिशोरी मध्ये किशोरीको विवाहयोग्य उमेर नभएको भन्दै नेपाल युथ काउन्सिल,बाल सञ्जालले प्रहरीसँग सहकार्य गरी विवाह रोकेका हुन् ।

विवाहयोग्य उमेर २० बर्षको भएपनि भागीविवाह गरेका किशोरकिशोरीले धार्मिक पम्पराअनुसरा जन्ती सहित मागीविवाहका लागि बेहुला घरबाट हिड्न लागेको सूचना प्राप्त भएपछि विवाह रोकिएको प्रहरी निरिक्षक धुब्र शर्माले बताए ।

‘नेपालको कानुनबमोजिम २० वर्ष नपुगी विवाह गर्न पाइन्न,‘गाउँ–गाउँमा गठित सञ्जालमार्फत तत्कालै सूचना आउन थालेको छ’शर्माले भने। उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न विद्यालयहरूमा समेत कार्यक्रम सञ्चालन गर्न थालिएपछि दुई महिनामा ३ बालविवाह रोकिएको बताए ।

बेनी नगरपालिका वडा नं ५ पूलाचौर, रघुगंगा गाउँपालिका–२ भगवतीमा तयारी अवस्थामा रहेको बालविवाह समेत रोकिएको बताए । गाउँमा कम उमेरका किशोरकिशोरीको विवाहको तयारीका बारेमा जानकारी पाएलगत्तै संस्थामा आवद्ध सदस्यलाई बुझ्न पठाउने, वडा कार्यालयबाट जन्ममिति तथा अन्य आधिकारिक विवरणको खोजी २० बर्ष पार नगरेको भेटिएमा तत्काल प्रहरीलाई जानकारी दिने गरिएको नेपाल युथ काउन्सिल म्याग्दीका अध्यक्ष छवि आर्चायले बताए ।

‘बालविवाहको जानकारी पाए कुनैपक्षको दवावमा परिन्न,‘बालविवाह मुक्त बनाउने अभियानले तिब्रता पाएको छ’ आचार्यले भने । उनले नेपाल प्रहरीसँग साझेदारी गरी जिल्लाको ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा बालविवाह सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताए । बालअधिकारबारे पैरवी गर्दै आएका संस्थाले हरेक वडा, बस्तीमा आफ्ना सञ्जालका सदस्यहरू बनाएर बालविवाह, बालहिंसाका बारेमा जानकारी दिने गरी संयन्त्र बनाउने तयारीमा छन् ।

गैरसरकारी संस्था सिवीन म्याग्दीले समेत यसअगाडी विभिन्न स्थानमा पुगेर जनेचतनामुलक कार्यक्रम सञ्चालन गरेपछि बाल सञ्जालको सक्रियता बढेको थियो । बाल सञ्जालको अभियानमा जनप्रतिनिधिले समेत सहयोग गर्न बाध्य छन् । जनप्रतिनिधिले नाता प्रमाणित, जन्मदर्ता लगायतका कागजातहरू सहज बाल सञ्जाललाई जानकारी गराउन आनकानी गरेमा बालसञ्जालले स्थानीय तहका प्रमुख मार्फत दवाव दिने गरेको बालअधिकारकर्मीको भनाई छ ।

चिनजानमा रहेका किशोकिशोरी बिच प्रेम झाँगिएमा १५ बर्षकै उमेरमा समेत भागिविवाह गरेका घटना जिल्लाभित्रै छन्। जिल्लामा सबैभन्दा धेरै बालविवाह धवलागिरी गाउँपालिकामा हुन्छ।गाउँपालिकाको वडा नं २लुलाङमा गत आवमा मात्रै १० भन्दा धेरै बालविवाह भएको छ।

गाउँपालिकामा गुपचुप बालविवाह गर्नेको संख्या धेरै भएपछि गत आवदेखि गाउँपालिकाले बालविवाह न्यूनिकरणको अभियान नै सञ्चालन गरेको छ । सानै उमेरमा प्रजनन अङ्गहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृमृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सर लगाएत यौनजन्य रोग लाग्ने भएकाले पनि समस्या हुने गरेकाले बालविवाह, बाल अधिकारीको हनन् मात्र नभई बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरू देखिएको अधिकारकर्मीको भनाई छ ।

Leave a Reply