ठ्याक्कै तिथि मितिको याद त छैन तर त्यस्तै १० बर्षअधि म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाट जाने बाटोमा गोलीले छियाछिया भएको विद्युतको पोल एकाएक गायब भयो।पोल नजिकको बाटो भएर सर्वसाधारणलाई हिडडुलमा समस्याको महसुस गरी विद्युत प्राधिकरणका कर्मचारीले फेरेको सम्झिएर कसैले वास्ता गरेनन् ।

विद्युत पोल जीर्ण भएर ढल्न लागेकाले परिवर्तन गरिएको विद्युतका कर्मचारी बताउने गरेका थिए । तत्कालिन समयमा माओवादीका नेताहरू सदरमुकाम बेनी आउँदा पोल हेर्ने पुग्थे । उनीहरूले आफ्ना कार्यकर्तासँग हँसिलो मुहारमा तस्वीर खिचाउँदै यूद्धका गनथन गर्थे ।

बि.श २०६० चैत्र ७ गते राती तत्कालिन नेपाली सेनाको ब्यारेक आक्रमणको क्रममा सरकारी र विद्रोही पक्ष बिचको भिडन्तमा गोली लागेको पोल करिव एकबर्षपछि बेनीबाट हराएको करिब एकबर्षपछि ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा ठडिएको अवस्थामा भेटियो।

जिल्ला प्रशासन कार्यालय,प्रहरीको अनुमति बिना विद्युतका कर्मचारीहरूले पोललाई त्यहाँसम्म पु¥याउन मदन पुस्तकालयसँग सम्बन्धित ब्यक्तिहरुलाई साथ दिएको तथ्य बाहिरिएपछि पोल फिर्ता ल्याउने अभियानको चर्चा चल्यो तर केही महिनामा सेलायो ।

माओवादीको जनयूद्धमा सबैभन्दा ठूलो फौजी आक्रमण मानिने बेनी आक्रमणमा भेटिएका हतियार, अन्य साम्रागीहरू यत्रतत्र फालिएको अवस्थामा एउटा विद्युतको पोलमा राजनीतिक दलका नेताहरुको चासो नजानु स्वभाविक थियो । चर्चामा आउने अनि सेलाउने पोलबाट यालमाया केन्द्रमा विदेशी पर्यटकबाट लाभ लिइरहेको तथ्य सहितको समाचार आउँदा समेत सरोकारवाला मौन बसेका छन् ।

विश्वका विभिन्न देशबाट आएका यूवाहरूको जमघट देखिएको केन्द्रमा विदेशीको प्रमुख आर्कषण सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल पर्ने गरेको छ । पोललाई केन्द्रले राम्रोसँग संरक्षण त गरेको छ तर, पोललाई बेनीमा ल्याउन जनप्रतिनिधिहरुबाटै बेवास्ता भइरहेको केन्द्रको भनाई छ । नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने माध्यम पोल बनेको छ । पोल तत्कालिन शसस्त्र यूद्धको एउटा दरिलो प्रमाण बनेको छ ।

अहिलेसम्म पोल फिर्ता ल्याउने प्रयासमा कुनै प्रगति छैन् । तर, बेनीमा पोल फिर्ता ल्याउनुको विकल्प छैन् । पोल लगायत बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्न सक्छ ।

पोल सहित यूद्धका बास्तविकतामा आधारित नयाँ संरचना, अलपत्र र बिग्रिएका हतियारहरु भण्डारन, आक्रमणका क्रममा लिइएको तस्वीहरुको प्रर्दशनी तथा युद्धका अवशेसहरुलाई संग्रह गरेमा अध्ययन अनुसन्धान केन्द्र बनाउन सकिन्छ ।

साँच्चैे माल पाएर चाल नपाएको जस्तै गरेका जनप्रतिनिधि, सरोकारवालाले यूद्ध संग्रालय बनाएर प्रबेश शुल्कमार्फत आम्दानी गर्न सक्ने तर्फ ध्यान किन दिन सकेका छैनन् ? अरू देशहरूमा सामान्य संरचनालाई पनि घुम्नै पर्ने पर्यटकीय केन्द्र बनाइरहेको छ। कुनै सम्भावनाका कुरा गर्दा चियामा उडाउँछौ, राजनीतिक मसला बनाउँछौ,गफ गर्ने फुर्सदैफुर्सद छ, दल र नेताका हनुमान बन्ने जोश र जाँगर छ । तर, आवश्यक पर्ने क्षेत्रका बारेमा सञ्चारमाध्यममा समाचार आउँदा समेत सुने पनि नसुनेझँै, देखे पनि नदेखेझँै गरिरहेका छौ । पोललाई फिर्ता लिएर ‘शान्ति संग्रहालय’ बेनीमा बनाउन पहल गरौं । बेनी साप्ताहिक पत्रिकाबाट सभार 

Leave a Reply