बेनी नगरपालिका–७, मुस्लिम सुकुम्बासी बस्तीकी ४० बर्षिया जमिल बेगमको दुवै मृगौला फेल भएको चार महिना बढी भयो । नियमित डायलासिस गर्न आर्थिक क्षमता नभएपछि बेगमले आयूर्वेदिक औषध सेवन गर्ने गरेकी छन्। दैनिक विहान, दिउँसो र बेलुकी आफ्नै दाजु रहमद खाँले बनाउने गरेको जडिबुटी खाएर बस्ने गरेकी छन् ।

सदरमुकाम बेनीको बिरेन्द्रचोकमा रहेको सानो पसल सञ्चालन गरेर गुजरा चलाइरहेकी बेगमको ब्लड प्रेसरले मृगौला खराव गरिदिएपछि आफन्तको सहयोगमा दुईपटकसम्म पोखरामा उपचारका लागि पुगेपनि आर्थिक अभावले उपचार रोकिएको बताईन् ।

‘पोखरासम्म जाने पैसा सकियो,‘औषधीको नाममा जडिबुटी प्रयोग गरिरहेको छु’उनले भनिन् । तीन छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षाका लागि ब्यापार गरी जोडेको पैसा उपचारमा सकिएपछि थप उपचारमा पोखरासम्म जाने सवारीसाधनको भाडा समेत नभएकाले बाध्य भएर जुडिबुटी खानुपरेको बेगमको गुनासो छ। ‘गरिबलाई उपचार अस्पतालमा पुगेपछि मात्रै हुन्छ,‘घरबाटै अस्पतालमा पुग्ने पैसा छैन’ उनले भनिन् ।

आफुँले प्रयोग गर्ने जडिबुटी देखाउँदै नियमित जडिबुटी खाएर ज्यान जोगाउन नसकिने भएकाले सहयोगको याचना गरेको बताईन् । ‘उपचार गर्ने पैसा छैन्,‘सहयोग नमागी बाचिन्छ जस्तो लाग्दैन’ बेगमले भनिन् । उनले सेवा निशुल्क भएपनि खाना, यातायात र बासस्थानका लागि खर्च बढी हुने गरेको बताईन् ।

‘’गरिबलाई मृगौला रोग त कालै रैछ,‘मृत्यु जतिबेला पनि आउँन सक्छ’ उनले भक्कानिँदै भनिन् । एकपटक पोखरा जाँदा ७ हजारसम्म खर्च हुने गरेको बताईन् । डायलासिस निशुल्क गरिएपनि महङ्गो औषधी किन्नुपर्ने भएकाले दुई महिना यता नियमित जडिबुटी नै सेवन गरेको बताईन्। उनले गरिबलाई नै जटिल रोग देखिने भएकाले गरिबको उपचार सम्भव नभएको गुनासो गरिन् । हिड्न, उठबस गर्न, सुत्न, खाना मन नलाग्ने बताईन् ।

उनले उपचारमा करिब ५० हजार खर्च गरेकी छन् ।‘रोग पालेरै जिवन सिध्याउछ जस्तो लाग्छ,‘मैले सकेको सहयोग गरेको छु’ बेगमका दाजु रहमद खाँले भने । उनले खाना मन लाग्ने औषधीको रुपमा जडिबुटी खुवाउने गरेको बताए। ‘अस्पतालसम्म लैजाने पैसा नै छैन्,‘रगत सफा हुने औषधी भन्दै जडिबुटी खुवाउनुपर्ने बाध्यता छ’ उनले भने ।

उनले ग्याष्ट्रिक, रगत बढ्ने, खानामा रुची हुने, बान्ता भएमा रोकथाम हुने औषधी दिने गरेको बताए । उनले हालसम्म उपचारका लागि कतै सहयोग माग नगरिएपनि डायलासिस र सम्भव भएसम्म मृगौला प्रत्यारोपणका लागि ८ लाख रुपैयाँ जम्मा गर्नुपर्ने बताए। ‘बहिनी बाँचेमात्रै परिवार सम्हालिन सक्छन्,‘सहयोगको हारगुहार माग्नुको बिकल्प छैन’ उनले भने।

मुस्लिम समुदायमा मृगौला दान दिने सम्भावना नभएको बताउँदै नियमित उपचारमा लागि सहयोग गर्न बेनीबजारबासीका साथै नाता, ईष्टमित्र तथा आफन्तकै भर पर्नुपरेको बताए । यता बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले मृगौला खरावी भएकालाई जडिबुटीको सेवन केवल आत्मसन्तुष्टि मात्रै भएको बताउँदै नियमित डायलासिस लगायत चिकित्सकले दिएको सुझाव अनुसार अगाडी बढ्नुपर्ने बताए ।

को हुन जमिल ?
आजभन्दा एकदशक अगाडी एउटा तस्वीरले निकै भावुक बनाउने गरेको थियो । घरको पिँडी र आँगन रगलते लतपतिएको अवस्थामा छेउमै बसेकी बालिका र उनकी आमाले रगतका छिटाहरु पानीले पखाल्दै गरेको तस्वीरले नेपालका साथै विश्वका विभिन्न देशमा समेत चर्चा पायो । नेपालय नामक संस्थाले १० बर्षे द्वन्द्वलाई समेटेर निकालेको तस्बीर पुस्तक ’लडाईमा जनता’ मा समेत छापिएको तस्वीरको पात्र जमिल खातुन हुन् ।

म्याग्दीको सदरमुकाम बेनीमा नेपालयले गरेको फोटो प्रर्दशनीा जमिललाई खोज्दै फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार समेत पुगेका थिए । बेनी आक्रमणको तस्वीर सहितको प्रर्दशनीमा समेत खातुन पुगेकी थिईन् । उक्त तस्वीरले धेरैको ध्यान तान्न सफल भएको थियो ।

रगतले लतपतिएको अवस्थामामा रगत पखाल्दै गरेकी खातुन अहिले मृगौला रोगसँग लडिरहेकी छन् । तत्कालिन समयमा माओवादीले बेनी आक्रमण गरेका आगामी चैत्र ७ गते १६ बर्ष पुरा हुन्छ । आफ्नो दैनिकीलाई तस्वीरमार्फत प्रर्दशनी गर्नेहरुबाट उनले सहयोग मागिरहेकी छन् ।

उक्त तस्वीर अहिले पनि ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रको भित्तामा छ । १० बर्षे द्वन्द्वको प्रतिनिधित्व गरिरहेको तस्वीरका बारेमा जानकारी पाएपछि उनले केन्द्रलाई सहयोग माग्ने वातावरण बनाइदिन समेत अनुरोध गरेकी छन् । हरिकृष्ण गौतम

Leave a Reply