म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा एक परिवारले खयर भारानिको दर्शन गर्न आउने भक्तजनलाई सहज हुने गरी धोतिखोला उकालोमा पदमार्ग निर्माणमा सहयोग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका वडा नं ५ पाउद्धारको खयर बराह क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको अभियानमा पाउद्वारगाउँ पलादी निवासी ९१ बर्षीय कलमसिङ्ग तिलिजा पुन र उनकी धर्मपत्नी सचिमा तिलिजा पुनले पदमार्ग निर्माणमा ६ लाख सहयोग गरेको खयर भारानीथान तथा क्षेत्रसंरक्षण कोषका संयोजक ले. राजु पुनले बताए । ‘ठाडो उकालेमा यात्रा गर्दा समस्या हुने गरेको थियो,‘पदमार्ग निर्माणपछि निकै सहज हुने छ’ पुनले भने ।

उनका अनुसार अगाामी २०७७ सालको खयरपुजा अगाडी नै पदमार्ग निर्माणकार्य सम्पन्न गरिने बताए । कलमसिङ्ग दम्पत्तीसँगै उनका छोरा कृष्णबहादुर पुन लगायतको सहयोगमा निकै आवश्यक परेको पूर्वाधार निर्माणमा सहज भएको बताए ।

उक्त क्षेत्रमा प्राप्त सहयोगबाट अन्दाजी ३७५ देखि ४०० वटा सिंडीहरु निर्माण हुने संयोजक पुनले बताए । निलगिरि हिमालको काखमा रहेको रहेको निलो ताल नजिकैको मन्दिरमा भक्तजनहरुको चाप बढ्ने गरेको छ । संयोजक पुनको सक्रियतामा पाउद्धारदेखि खयरसम्म आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारको कामले तिब्रता पाएको छ ।

स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी करिव १ करोड २० लाखभन्दा धेरै लागतमा पूर्वाधार निर्माण भएको छ । खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानी लगायतका पूर्वाधारले विदेशबाट आउने पर्यटकलाई समेत सहज भएको छ । समुन्द्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको संख्यामा भक्तजनहरु पुग्ने गरेका छन् ।

आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर हुँदै तीन दिनको पैदलयात्रामा खयरबराही तालमा जोखिमपूर्ण यात्रा गरेर भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । पदमार्गस्थल तथा भक्तजनलाई अनुकुल हुने ठाउँमा संरचना बनेपछि घुम्न जानेको संख्या समेत बढेको छ। हरिकृष्ण गौतम

Leave a Reply