गर्मीयामको समयमा हुन सक्ने आगलागी न्युनीकरणको प्रयास गर्न जिल्लास्तरीय वन डढेलो नियन्त्रण सञ्जाल गठन भएको छ । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नवीन विश्वकर्माको संयोजकत्वमा अग्नी नियन्त्रण सञ्जाल गठन गरिएको हो ।

डिभिजन वन कार्यालयको आयोजनामा बुधबार सम्पन्न जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयारी गोष्ठीमा सञ्जाल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

सञ्जालको सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरी, नेपाली सेनाका क्याप्टेन दिपेश विष्ट, सशस्त्र प्रहरी बलका पुरन न्यौपाने, राष्ट्रिय अनुसन्धानका विरेन्द्र श्रेष्ठ, फेकोफोन महासंघका जिल्ला सचिव तेजकुमारी पुन, जिल्ला समन्वय समितिका नारायण जैसी र रेडक्रसका प्रतिनिधि रहेका छन् ।

कार्यक्रममा सहजीकरण गर्दै वन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक केदारनाथ पौडेलले प्रज्ज्वलनशील पदार्थको उचित व्यवस्थापन गर्न सकेमा वन डढेलो न्युनीकरण हुने बताए । उनले वन्यजन्तु जनावरको आक्रमणपछिको दोस्रो ठूलो घटना डढेलो नियन्त्रणका क्रममा हुने मानवीय क्षति रहेको बताउँदै वन डढेलो नियन्त्रणका क्रममा मानवीय क्षति भएमा राज्यले राहत व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

निर्देशक पौडेलले गएको १ वर्षको अवधिमा १३ जना मानिसको चितुवाको आक्रमणबाट मृत्यु भएको जानकारी दिँदै गैंडासम्बन्धी विभिन्न ५ ओटा घटना भएको बताए । राष्ट्रिय निकुञ्जहरुमा घाँसको अभाव हुन थालेपछि आहारा तथा घाँसको खोजीमा वन्यजन्तु जनावर वनजङ्गल, खेतबारी र मानव वस्तीमा आउने कारणले मानवीय क्षति हुने गरेको उनले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जङ्गली जनावरको शिकार गर्न लगाइने डढेलोका कारण ठूलो क्षति हुने गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरणजंग कुँबर, सशस्त्र प्रहरी बलका डिसएसपी प्रकाशकुमार माझी, नेपाली सेनाका क्याप्टेन दिपेश विष्ट र फेकोफोन गण्डकी प्रदेशका सहसचिव सीता गुरुङले मन्तव्य राखेका थिए ।

निमित्त डिभिजन वन कार्यालय प्रमुख सन्तोष खनालको अध्यक्षता र सहायक वन अधिकृत नवीन विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वन निर्देशनालय गण्डकी प्रदेशको योजना शाखाका तुलाबहादुर थापा, राष्ट्रिय अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply