छिमेकी बागलुङ जिल्लाबाट बेनीका लागुऔषध प्रयोगकर्तालाई नियमित लागुऔषध पठाउने कारोबारीको सुईको पाएपछि प्रहरी निरिक्षक धुर्व शर्माको कमाण्डममा ५ जनाको टोली खटियो ।

जिल्लामा लागु औषध भित्रिने सम्भावित स्थानलाई निसाना बनाएर कडा निगरानी बढाइरहेको म्याग्दी प्रहरीले पोखरा, पर्वत र बागलुङका कारोबारीको खोजीको क्रममा बागलुङको जैमिनी नगरपालिका–१, जुम्लीखोलामा पुगेर लागुऔषध बिक्रीको तयारीमा रहेका दुई कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङसँग सहकार्य गरी विशेष सुराकीका आधारमा करिब दुईघण्टाको यात्रापछि सोही गाउँपालिकाका त्रिबेनीडाँडा बस्ने २७ बर्षिय सुशील थापा र २० बर्षिय सुनिल थापालाई पक्राउ गरिएको प्रहरी निरिक्षक शर्माले बताए ।

‘लागुऔषध नियन्त्रणका लागि एउटा सफल अप्रेशन मानिएको छ,‘कारोबारी निकै चलाख देखियो’ शर्माले बेनीअनलाइनलाई भने ।अभियुक्तबाट ४६ एम्पुल लागुऔषध बरामत गरिएको छ। सोही टोलीले बागलुङ नगरपालिका–१० काठेखोला पुल नजिकबाट रोरोशन आचार्यसँग लागु औषध खरिद गर्न खोज्ने थप दुई जनालाई निन्त्रणमा लिएको थियो ।

बानपा–१० भकुण्डेका २० बर्षिय योगेश सुनार, बानपा–२ बस्ने १९ बर्षिय सौगात थापा मगरलाई नगद ११ हजार सहित पक्राउ गरी बागलुङ प्रहरीलाई बुझाइएको छ । पछिल्लो दुई महिनामा लागुऔषध बिरुद्धको अभियानमा एकपछि अर्को कारोबारीको सञ्जाल टोड्न सफल भएको म्याग्दी प्रहरीले बेनीमा लागुऔषधीको सेवनकर्तालाई निगरानीमा राखेर पञ्छाउँदै गर्दा उक्त स्थानसम्म पुग्न सफल भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । उनका अनुसार बेनीबजारमा लागुऔषधीको प्रयोगकर्ताको सूची नै तयार गरी कडा निगरानीमा राखिएको बताए ।

म्याग्दीका प्रयोगकर्ता, बागलुङका कारोबारी
गत फागुन १२ गते बागलुङ नगरपालिका–१० डब्ल्याङ भन्ने ठाउँमा लागुऔषध खरिद विक्रि भई रहेको अवस्थामा म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङ घर भई हाल बेनपा ८ बेनीमा बस्ने २० बर्षिय हरी छन्त्याल, रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाका १८ बर्षिय लक्की पुन र बानपा–१० भकुण्डेका १९ बर्षिय बिशाल थापालाई म्याग्दी प्रहरीले नियन्त्रणमा लियो ।

जिल्लामा भित्रिने लागुऔषधको सञ्जाल ध्वस्त पार्ने कार्यमा सक्रिय रहेको प्रहरीले छिमेकी जिल्ला बागलुङको प्रहरीसँग समन्वय गरी कारोबारीकर्ता बानपा–१० भकुण्डेका थापालाई पक्राउ गर्न जाँदा म्याग्दीमा दुई यूवा खदिर गरिरहेको अवस्थामै पक्राउ गरेको थियो । सोही टोलीको सूचनाका आधारमा बिहिबार समेत प्रहरीले बागलुङकै अर्को स्थानबाट कारोबारी र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । बेनीमा भित्रिने प्रमुख नाका पर्वत जलजला गाउँपालिका–३ पर्वत बेनी, बागलुङ–रत्नेचौर सडक रहेको छ ।

गत माघ ७ गते बेनी नगरपालिका–७,मंगलाघाटमा लागुऔषध प्रयोगकर्तालाई विक्रीको तयारीमा रहेका दुई कारोबारीलाई पक्राउ गरेको थियो । बेनीबाट पक्राउ परेकाहरुको कनेक्सन समेत बागलुङका कारोबारीसँग देखिएको प्रहरीको अनुमान छ । सानो लगानीमा धेरै कमाई हुने भएपछि एकैपटक ठूलो मात्रामा खरिद गरी ल्याउने गरिएको छ । बेनी लगायत आसपासका प्रयोगकर्ताहरू बागलुङका कारोबारीमा निर्भर हुन थालेको सुईको प्रहरीमा पुगेको छ।

प्रहरीले कारोबारीसँगै प्रयोगकर्ताको दैनिक गतिविधिलाई समेत कडा निगरानी राखेको स्रोतको भनाई छ । बागलुङका कारोबारीको भारतीय बजार रुपैडिहासम्म पहुँच छ । म्याग्दीमा भित्रिने लागु औषध बागलुङ नै भएको देखिएकाले प्रहरीले निगरानी बढाएपछि धमाधम पक्राउ पर्न थालेका छन् ।

घरबाट बिक्री गर्न छोडे, जंगलबाट कारोबार
बिहिबार म्याग्दी प्रहरीको टोली कारोबारीको खोजीमा बागलुङको जैमिनी नगरपालिका जुम्लीखोलामा पुग्दा कारोबारका लागि जेब्रा ब्यागमा लागुऔषध लिएर आएका अभियुक्त थापाद्धयले घरबाट विक्री गर्दा प्रहरीको निगरानीमा पर्ने जोखिमले जंगल र एकान्तबाट विक्री गर्ने गरेको प्रहरीलाई बताएका छन् । धवलागिरी भित्रका लागु औषध प्रयोगकर्तालाई कारोबारीले पुरानो शैलीलाई परिवर्तन गरी नयाँ उपाय निकालेर कारोबार र तस्करी गर्ने गरेको पाइएको छ।

जेब्रा ब्यागमा समान्यतया अन्य सामानहरु हाल्ने गरिएकाले पनि प्रहरीको निगरानीमा नपर्ने भएकाले जेब्राको प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।बिक्री गर्ने स्थान र शैली परिवर्तनसँगै कारोबारीले तस्करी गर्ने क्रममा समेत शरीरमा टाँसेर, मोटरसाईकल तथा अन्य दैनिक उपभोग्य बस्तुमा लुकाएर समेत ल्याउन थालेको प्रहरीको अनुसन्धानमा खुलेको छ । लागुऔषधको प्रयोग र कारोबारमा देखिएको नयाँ शैली अनुसार नै प्रहरीले निगरानी बढाएको छ । हरिकृष्ण गौतम

Leave a Reply