दैनिक ८ सय जनाको हाराहारीमा सर्वसाधारण तथा पर्यटकले स्नान गर्दै आइरहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा कोरोना भाइरसको त्रासले स्नान गर्ने बिरामी ह्वात्तै घटेका छन् ।

प्राकृतिक उपचारको चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा बर्षभरी सबैभन्दा धेरै बिरामी फागुन र चैत्र महिनामा आउने गरेको भएपनि पछिल्ला केही दिनयता बिरामीको संख्यामा कमी आएको कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

उनले कुण्डमा बिरामीको चाप घट्नुको प्रमुख कारण कोरोना भाइरसको त्रास नै भएको बताउँदै स्नान गर्न आउने बिरामीलाई माक्स सहित सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।

धमाधम बिरामीलाई लक्षित गरी मुख्य कुण्ड बाहेक पनि बाहिरपट्टी नयाँ पोखरी निर्माणसँगै महिला पुरुषले छुट्टाछुट्टै स्नान गर्ने सुविधा बनाइएको छ । कुण्डले रुघाखोकी लागेका बिरामीलाई आवश्यकता परेमा छुटै कुण्डको ब्यवस्था समेत मिलाएको छ ।

दैनिक ५० जना नयाँ बिमारी आउन समेत मुस्किल भएको कुण्डकी कर्मचारी मेखी खत्रीको भनाई छ । तातोपानीको मुख्य कुण्डभन्दा बाहिरपट्टी धारा नजिकै दुईवटा पोखरी निर्माण गरिएकाले रुघाखोकी लागेकालाई त्यहाँ समेत राखेर स्नान गर्ने ब्यवस्था मिलाउने बताइएको छ।जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातातोपानीले नेपालभरीका विभिन्न रोगका बिरामीलाई आर्कषित गरेको छ ।

जमिन मूनिबाट ४८ देखि ५३ डिग्री सेल्सियसको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोबाट उत्पन्न रोगहरु निको हुने जनविश्वास छ । यसैबीच कुण्डमा स्नान गर्न आउने बिरामीलाई कोरोना भाइरससम्बन्धि जानकारी दिने, कूण्डमा सकेसम्म नछोई बस्ने, रुघाखोकी लागेकालाई सतर्कता अपनाउन, नियमित रुघाखोकी लागेमा तत्कालै उपचारका लागि अस्पताल जान समेत अनुरोध गरिएको छ।

Leave a Reply