चालु आर्थिक वर्ष २०७६÷७७ मा म्याग्दीको बेनी नगरपालिकाको कार्यालयमार्फत सञ्चालित योजनाहरुको स्थलगत अनुगमन भएको छ । शुक्रबार बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको नेतृत्वमा बेनपाको ५ नम्बर वडा पुलाचौरको विभिन्न ठाउँमा सञ्चालित शिक्षा र सडकसँग सम्बन्धित योजनाहरुको अनुगमन गरिएको हो । चालु वर्षमा सञ्चालित विकासे योजनाहरुको कार्य प्रगतिको बारेमा जानकारी लिने उद्देश्यसहित स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरिएको बेनी नगरपालिकाले जनाएको छ । उपप्रमुख बरुवाल नेतृत्वको टोलीले विद्यालयमा सञ्चालित वार्षिक परीक्षाको समेत अनुगमन गरेको थियो । विकासे योजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन तथा निर्माण र स्थानीयलाई जिम्मेवार बनाउन अनुगमन गरिएको बताइएको छ । उक्त टोलीले बेनपा–५ अन्तर्गत भीरमुनीको पौलस्त्य माध्यमिक विद्यालयको भवन, युवा क्लबद्वारा निर्माणाधीन अवस्थामा रहेको खेल–मैदान, जनकल्याण मावि पुलाचौरको विद्यालय भवन र निर्माणाधीन जगन्नाथ भ्यु–टावरको अनुगमन गरेको जानकारी दिएको छ । यसैगरी ज्योती आधारभूत विद्यालय डडुवा, शहरी स्वास्थ्य केन्द्र, डिम्ब आधारभूत विद्यालय चिप्लेटीको निर्माणाधीन विद्यालय भवन, भूतपानी–तल्लो डडुवा सडक तथा ढलान, अबेचौर–दारेगौंडा–पुरुण्डी–पुलाचौर सडकको सोलिङ तथा नाली निर्माणको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विद्यालय भवन तथा खेलमैदानको निर्माणकार्य सन्तोषजनक देखिए पनि सडकको सोलिङ तथा नाली निर्माणकार्यको भने सुधार गर्नुपर्ने अवस्था रहेको टोलीले जनाएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले सडक निर्माणमा देखिएका कमी कमजोरीलाई सुधार गरेर काम गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिएकी छिन् । अनुगमनमा उपप्रमुख बरुवालसहित बेनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, शिक्षा शाखा प्रमुख शिवप्रसाद रेग्मी, इन्जियिनर बिमलरञ्जन कार्की र स्रोतव्यक्ति मोहन बानियाँको उपस्थिति रहेको थियो ।

Leave a Reply