‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बिहान आँखै खोलेन, अस्पताल पुर्‍याउनै भ्याइएन ।’ यस्ता घटना धेरै सुन्नमा आइरहन्छन् । ठूला–ठूला नाम भएका व्यक्तिहरुको यसरी मृत्यु हुँदा अझ बढी चर्चा हुने गर्छ । विष पिलाएर मार्‍यो होला, धेरै रक्सी पियो होला, ड्रग्स लिने बानी थियो, धेरै तान्यो होला भनी अड्कलबाजी गर्ने चलन छ । धेरै चर्चित कलाकारहरु, राजनीतिज्ञहरु र समाजका चिरपरिचित व्यक्तिहरु राति राम्रै अवस्थामा सुतेका तर बिहान हुँदा ओछ्यानमै मृत अवस्थामा पाइएका थुप्रै घटना छन् । यसको पछाडि के रहस्य छ ? खोतल्ने प्रयास गरेको छु ।

मानिसको मृत्यु हुने मुख्य कारण मुटुको धड्कन बन्द हुनु हो । यसलाई कार्डियाक एरेस्ट भनिन्छ । यो अवस्था हृदयघात भएमा अथवा मुटुको धड्कन अत्यधिक बिग्रिएमा उत्पन्न हुन्छ । वैज्ञानिकहरुको धारणा यो छ कि कार्डियाक एरेस्ट मध्यरातदेखि बिहानीको समयमा बढी हुन्छ । यसै समयमा मुटुलाई अत्यधिक खतरा हुन्छ । सुतेको छु भनेर ढुक्क हुन सकिँदैन । मृत्यु धेरैजसो ओछ्यानमै हुन्छ । आखिर यस्तो किन हुन्छ ?

यो रहस्यलाई बुझ्नका लागि शरीरलाई चलाउने भित्री घडी ‘बायोलोजिकल क्लक’ अर्थात् जैविक घडीको बारेमा थाहा पाउनुपर्छ । यसका साथै हाम्रो शरीरको स्वचालित चौबीस घण्टे ताल (सर्काडियन रिदम) बारे पनि बुझ्नुपर्ने हुन्छ ।

हाम्रो शरीर आफैंभित्र एउटा घडी हुन्छ । शारीरिक प्रक्रियाहरु यही घडीअनुसार चल्छन् । सूर्योदयको उज्यालो र सूर्यास्तपछिको अँध्यारोले पनि शरीरको भित्री प्रक्रियाहरुलाई असर पार्छ । सूर्योदयको उज्यालोसँगै आँखा खुल्छ, बिहानीको नित्यकर्म, व्यायाम, नास्तासँगै शरीर सक्रिय भैसकेको हुन्छ । दिन चढ्दै जाँदा शरीर पनि अझ चलायमान, सक्रिय हुँदै जान्छ, मुटुको चाल बढ्छ, रक्तचाप बढ्छ, रक्तसञ्चालन बढ्छ । बेलुकी यो प्रक्रियामा सिथिलता आउन थाल्छ, जति–जति अँध्यारो हुँदै जान्छ उति–उति शरीर सिथिल हुँदै जान्छ । ९ बजेपछि निद्रा लाग्न थाल्छ, १० बजेतिर मानिस सुत्छ, शरीरको भित्री गति पनि सुस्त हुन्छ ।

मध्यरातको १२ बजेपछि शरीरलाई पुनः सक्रिय गराउने प्रक्रिया शुरु हुन्छ, जसका लागि एउटा रसायनको मात्रा शरीरमा बढ्न थाल्छ । यो रसायन वा हर्मोनको नाम हो कर्टिसोल । यसले सिथिल अवस्थामा रहेको शरीरको इन्जिनलाई एक धक्का दिन्छ र सञ्चालन शुरु गराउँछ । मुटुको धड्कन बढ्छ, रक्तचाप बढ्छ, ग्लुकोजको मात्रा बढ्छ, रक्तनलीहरु खुम्चिन थाल्छन्, मुटुलाई अलि जोडसँग काम गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । कहिलेकाहीँ मुटुले यो धक्का सहन सक्दैन, फलस्वरुप हृदयगति बन्द हुन्छ । मध्यरातको १ बजेदेखि शुरु भएको यो गतिविधि बढ्दै गएर बिहानीको ७ बजेसम्म पनि रहिरहन्छ । शरीर एउटा निश्चित गतिमा आएपछि यो प्रक्रिया रोकिन्छ र अर्को प्रक्रियाको थालनी हुन्छ, जसमा शरीर बिस्तारै चलायमान हुँदै जान्छ ।

मुटुको चाल यसभित्र जडित विद्युतीय प्रणालीमा निर्भर गर्छ । मुटुको एउटा कुनामा करेन्ट उत्पादन हुन्छ, त्यहाँबाट करेन्ट मुटुको मध्यभाग हुँदै सबैतिर पुग्छ र मुटुलाई धड्काउँछ । मुटुमा करेन्ट उत्पादन हुने, सञ्चालन हुने र मुटु धड्किने प्रक्रिया पनि जैविक घडीको तालसँग मेल खान्छ । मध्यरातदेखि बिहानीको समयमा मुटुको विद्युतीय प्रणालीमा विशेष प्रकारको सक्रियता उत्पन्न हुन्छ । यो समयमा विद्युत्को सर्किटमा गडबडी उत्पन्न हुने र सट भएर फ्यूज जाने अत्यधिक सम्भावना रहन्छ । वैज्ञानिकहरुले पत्ता लगाएअनुसार यो समयमा शरीरमा एकप्रकारको प्रोटिनको मात्रा घट्छ, जसले गर्दा मुटुभित्रको विद्युतीय प्रणालीमा नकारात्मक असर पर्न जान्छ । यो प्रोटिन बिहान ७ बजेपछि फेरि बढ्न थाल्छ र मुटुको विद्युतीय प्रणाली सामान्य अवस्थामा फर्किन्छ ।

यस प्रकार जैविक घडीको तालमा शरीर र मुटुको चाल परिवर्तन हुँदै जाने प्रणालीलाई सर्काडियन रिदम भनेको हो । हाम्रो शरीरको प्रकृति नै यस्तो छ कि मध्यरातदेखि बिहानीको समयसम्म मुटुलाई बढी खतरा छ । यसकारण यसै समयमा हृदयघात र कार्डियाक एरेस्ट अन्य समयमा भन्दा तीनदेखि पाँच गुणासम्म बढी हुन्छ । त्यसैले हामीले समाचारमा सुन्ने गर्छौं– ‘फलानो, राति ओछ्यानमै हृदयघात भएर मरेछ ।’

यसबाट हामीले केही पाठ सिक्नुपर्छ । मेरो सल्लाह–सुझाव यस प्रकार छ :

१. मध्यरात १ बजेदेखि बिहान ७ बजेसम्मको समय मुटुका लागि विशेष खतराको समय हो ।

२. उच्च रक्तचाप, मुटुको धमनीको रोग, कोलेस्ट्रोल आदिको औषधि सेवन गरिरहेका मुटुरोगीहरुले औषधिहरु बेलुकी खाना खाएपछि सेवन गर्दा मुटुलाई बढी मात्रामा सुरक्षा प्रदान गर्दछ ।

३. बिहान सबेरै अँध्यारोमै मर्निङ वाक गर्न जानेहरुले विशेष सावधानी अपनाउनुपर्छ । बिहानको औषधि छ भने त्यो खाएरै जाँदा राम्रो हुन्छ । व्यायाम एकैपल्ट कडा होइन कि बिस्तारै–बिस्तारै बढाउँदै लानुपर्छ ।

४. धूमपान र रक्सीको सेवन गर्नेबित्तिकै सुत्नुहुँदैन । मध्यरातसम्म बसेर चुरोट, रक्सी सेवन गर्दा झन् बढी खतरा हुन्छ ।

५. बेलुकीको खाना हलुका खाने, खाएपछि हलुका हिँड्ने, सुत्नुअगाडि गहिरो श्वास फेर्ने, नियमित औषधि सेवन गर्न नबिर्सने, सुत्ने ओछ्यान सफा र आरामदायी बनाउने, सधैँ एउटै समयमा सुत्ने र उठ्ने आदि कार्यले केही हदसम्म सुत्यासुत्यै मृत्यु हुने
सम्भावनालाई कम गर्छ । Source: sadhana.newsofnepal.com/

विज्ञापन