मौसममा आएको परिवर्तनका कारण म्याग्दीको तल्लो क्षेत्रसम्म हिमपात भएको छ । गर्मी मौसमको सुरुवात भइसकेको अवस्थामा एक्कासी भिषण बर्षा र हावाहुरीसँगै म्याग्दीको सदरमुकाम नजिकका बस्तीहरूको माथिल्लो भेगमा समेत हिमपात भएको छ । शनिबार लगातारको वर्षासँगै आइतबार विहान बेनी नगरपालिका-२, ज्यामरुककोटको धुरी, भकिम्लीको स्वर्गााआश्रम, बेलढुंगा, पूलाचौरको डढेकोट दरबार लगायतका क्षेत्र सेताम्मे भएका छन् । जिल्लाको मंगला,रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्के, उत्तरी म्याग्दीका विभिन्न वडाहरुको बस्तीमै हिमपात भएको जनाइएको छ । जिल्लाको तल्लो क्षेत्रमा यसपटक चौथोपटक हिमपात भएको छ भने सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको दूर्गम तथा विकट धौलागिरी गाउँपालिका–१, गूर्जामा अहिलेसम्म नवौंपटक भारी हिमपात भएको गूर्जाबासीले बताएका छन् । चैत्र महिनाको सुरुवातसँगै भएको भारी वर्षा र हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ। शनिबार दिउँसै भएको हिमपातले गूर्जाबासी घर बाहिर निस्कन नसकेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । पटक–पटक परेको हिमपातका कारण स्थानीयबासीन्दालाई सास्ती भएको छ । यसपटक पनि एक फिटसम्मै हिउँ जमेको छ । जाडो मौसममा लगाउने लुगाफाँटा धन्काएकाहरुले हिमपातसँगै जाडो बढेपछि पुषमाघ महिनाको जस्तै महसुस गरेको स्थानीयको भनाई छ । गूर्जा पुग्ने देउराली डाँडा आसपासका क्षेत्रमा परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको हो । त्यस्तै लुलाङ, मुदी, मल्कबाङ, रघुगंगा गाउँपालिकाको दग्नाम, चिमखोला, झिँ, पाखापानी, कुइनेमङ्गले, अन्नपूर्ण गापाको खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, हिस्तानको टिकोट,नागी लगायतका क्षेत्रमा भारी हिमपात भएको छ । गतबर्षदेखि म्याग्दीको तल्लो क्षेत्रमा समेत पटकपटक हिमपात हुन थालेको छ । २०६३ साल फागुन २ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हिमपात भएको थियो । त्यसपछि अहिले १३ वर्षपछि जिल्लाको तल्लो क्षेत्रमा यसबर्ष पुष, माघ, फागुन र चैत्र महिना गरी चारपटक पटकसम्म बाक्लो हिउँ परेको छ। जिल्लाको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै १ फिटसम्म हिउँ जमेको छ । यसैबीच आइतबार विहानदेखी मौसम खुलेको छ । यसैबीच हावाहुरीले जौ लगायतका खेतीबालीमा क्षती पुगेको छ । शनिबार रातीदेखि आइतबार विहान ७ बजेसम्म तिब्र हावाहुरीले अन्नबालीमा असर गरेको हो । आइतबार विहानदेखी मौसम खुलेको छ ।

Leave a Reply