पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने साकै मुलुकहरुमध्येकै नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको भएपनि पर्याप्त बजेट बिनीयोजन हुन नसक्दा योजना अलपत्र बनेको थियो ।

कालीगण्डकी नदिमाथि २०६ मिटरको उचाई र ५ सय १० मिटर लामो पुल बन्ने भएको हो । पुल निर्माणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको छ ।

महाशाखाका शाखा अधिकृत शशी पौडेलद्धारा जारी पत्रमा कुश्मा–नेपाने कालीगण्डकी मोटरेवल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवदेनका आधारमा र विभिन्न समयमा विभिन्न मन्त्रालयले गरेको सर्वेक्षणका आधारमा आवश्यक प्रकृयाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएको हो ।

उपभोक्ता समितिले २०७० सालदेखि हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय गरी ११ पटक निवेदन दिएको थियो । अन्तिम पटक गण्डकी प्रदेशको भौतीक पूर्वाधार विकास कायालयले समेत संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशनसँगै पुल निर्माण हुने आशा जगाएको उपभोक्ता समितिका अध्यक्ष तथा अभियन्ता मेघनाथ शर्माले बताए । २०६ मिटरको उचाई र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुकहरुकै नमुना पुल हुने अपेक्षा गरिएको छ ।

यो पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्विनी हूँदै पोखरा र स्याङजा सम्मको दुरी घट्ने भएको छ । त्यतिमात्र हैन सडक अभावले लामोसमयदेखि अलपत्र बनेको बलेवा विमानस्थल समेत संचालनमा आउने भएको छ । त्यस्तै यस क्षेत्रको पर्यटकीय विकासमा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शर्माले धौलागिरि सञ्चारलाई जानकारी दिए ।

शर्माका अनुसार कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने महत्वपुर्ण नाका यो बन्ने भएको छ । यसले गर्दा सिङ्गो धौलागिरि क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने भएको छ ।
प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि १ अर्ब २९ लाख रुपैया लागत लाग्ने अनुमान गरिएको थियो । तर अहिलेको अवस्थामा भने लागत बढ्ने देखिएको छ ।

अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका सहमति जुटाएर पुल निर्माणका लागि पहल भैरहेको अध्यक्ष शर्माले जानकारी दिए ।पर्वत र बागलुङ जोड्न यस अघि कालीगण्डकी नदिमाथि झोलुङ्गे पुल, निजि क्षेत्रद्धारा यान्त्रिक पुल र बन्जि जम्प गर्ने पुलसमेत संचालनमा आएपनि मोटरेबल पुल निर्माणका लागि दुवै जिल्लाका बासिन्दाले लामो समयदेखि माग गर्दै आएका थिए । मन्त्रिपरिषदको कार्यालयले दिएको आदेशसँगै पुल निर्माण हुने आशा जगाएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । उनका अनुसार यो मोटरेवल पुल बनेमा सिङ्गो धौलागिरि क्षेत्रको एकीकृत विकासमा टेवा पुग्ने बताईन्छ । लक्ष्मण सापकोटा  

Leave a Reply