विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको कारण त्रास उत्पन्न भइरहेको अवस्थामा म्याग्दीको ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमले तिब्रता पाएको छ ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनका विभिन्न बस्तीमा कोरोना भाइरसबाट जोगिन विभिन्न रोकथामका उपाय सहित सचेतनामुलक कार्यक्रम गरिएको छ । सृजना यूवा क्लवको आयोजना र मंगला गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा अर्मनका पाखु , पिपलबोट र कुर्सिलामा करिब १ सय ५० जनालाई जानकारी दिइएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष भुपेन्द्र बहादुर खत्रीले त्रसित नभई सचेतनामुलक कार्यक्रम मार्फत लिएको जानकारीलाई प्रयोग गर्न अनुरोध गरेका थिए । सोही अवसरमा स्वास्थ्य संयोजक लेखु रोका मगरले सहजीकरण गरेका थिए । कार्यक्रममा स्थानीय आमा समुह, विद्यार्थी, जेष्ठ नागरिक लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच मंगला शिक्षा क्याम्पस र मंगला माविमा अध्ययनरत विद्यार्थीलाई अनेरास्ववियू म्याग्दीले कोरना भाइरसबारे जानकारी गराएको जिल्ला अध्यक्ष सुवास विश्वकर्माले बताए। विद्यार्थीलाई कोरना भाइरसबाट जोगिन घरपरिवारसँगै समाजमा समेत विभिन्न कार्यक्रम गर्न अनुरोध गरिएको थियो । ज्वरो आउनु, लगातार खोकी लाग्ने, स्वास प्रस्वासमा समस्या देखिएमा स्वास्थ्य चौकीमा पुगेर परीक्षण गर्न अनुरोध गरिएको थियो विश्वभरी कोरोना भाइरसको त्रास फैलिएसँगै निजी तथा सामुदायिक विद्यालयले समेत विद्यार्थीलाई जानकारी दिइरहेका छन् ।

Leave a Reply