म्याग्दीमा साइलेन्स किलरको रुपमा चिनिएको मृगौल रोगीको संख्या अस्वभाविक रुपमा बढ्दै गइरहेको एक तथ्याङ्कले देखाएको छ । पछिल्लो तीनबर्ष यता डायलाइसिस गराइरहेका विरामीको तथ्याङ्कले म्याग्दीमा विरामीको संख्या डरलाग्दो अवस्थामा रहेको देखिएको छ । बदलिँदो जीवनशैलीसँगै मीठोमीठो खानुपर्ने, मांसाहारी खाना बढी रुचाउने, रक्सी, सुर्तीजन्य नशाको सेवन, मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदि लगायतले म्याग्दीमा पछिल्लो समय मृगौला रोगीको संख्या ह्वात्तै बढेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मृगौला उपचार केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहबाट सरकारी सुविधा लिएर ४० जना बिरामीले विभिन्न अस्पतालमा डायलासिस सेवा लिइरहेका छन् भने १९ जनाले सेवाको प्रतिक्षामा रहेको देखिन्छ ।

म्याग्दीबाट उपचारका लागि पोखरा, काठमाण्डौमा रहेका मृगौला पीडितमा गण्डकी अस्पताल पोखरामा ११ जना, मणिपाल शिक्षण अस्पतालमा ११ जना, फिस्टेल हस्पिटलमा २ जना, गण्डकी मेडिकल कलेजमा ६ जना र धौलागिरी अस्पताल बागलुङमा ३ जनाले डायलासीस सेवा लिइरहेका छन् ।

त्यस्तै गण्डकी अस्पतालमा ७ जना, मणिपालमा १२ जना बिरामीले सेवाका लागि निवेदन दिएको बेनीअनलाइनले प्रप्त गरेको तथ्याङ्कमा उल्लेख छ । हाल सरकारी तथ्याङमा ४० जनाले सेवा लिइरहेका छन भने १९ जना सेवाका लागि तयारी अवस्थामा देखिन्छन् ।

सरकारी अनुदान तथा सेवा लिएर उपचार गराइरहेका बिरामीको संख्या बाहेक ब्यक्तिगत खर्चमा पोखरा र काठमाण्डौमा उपचार गराउनेको संख्या करिव २० भन्दा धेरै रहेको अनुमान गरिएको छ । केही बिरामीले आफ्नो समस्या गोप्य राखेर उपचार गराइरहेका छन् ।

आर्थिक हैसियत बलियो भएकाले आफन्तमार्फत मृगौला म्याच गरेपछि प्रत्यारोपण गरेकाको तथ्याङ्क नभएकाले म्याग्दीमा सरकारी तथ्याङमा करिब ६० जना मृगौला रोगीको संख्या देखिए पनि करिव १ सय को हाराहारीमा पीडित हुनसक्ने बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘हामीले पनि तथ्याङ्क संकलनको प्रयासमा छौ,‘अब म्याग्दीको बास्तविक तथ्याङ्क खोज्न सजिलो हुन्छ’ कटुवालले भने । अस्पतालमा डायलासीस सेवा सुरू हुन लागेकाले विस्तारै जिल्लाका बिरामीको तथ्याङ्क संकलनमा सहज हुने बताए ।

एउटा मात्रै मृगौलामा समस्या भएर उपचार गर्नेहरु समेत रहेका छन् । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पछिल्लो तीनबर्ष यता दुईजना बिरामीको उपचार अभियान सञ्चालन गरेको छ भने ३२ जना मृगौला पीडितलाई आर्थिक सहयोग समेत गरेको छ । सामाजिक सञ्जालमा समेत महिनैपिच्छे नयाँ बिरामीले अपिल गरेको देखिन्छ ।

बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले जन्मजात हुने समस्या, वंशाणुगत रोगको समस्याले समेत मृगौला गुम्ने बताए । उनले मृगौला थाहै नपाई बिग्रिरहेको हुनसक्ने बताउँदै ९० प्रतिशतसम्म खराब भइसक्दा पनि कुनै लक्षण नदेखिने जोखिम समेत हुने बताए । एक मृगौला पीडितले डायलासीस सहित प्रत्यारोपणसम्म करिव २५ लाखभन्दा माथि खर्च गर्नुपर्छ ।

कोही जडिबुटी खाएरै बस्न बाध्य
म्याग्दीको बेनी नगरपालिका–७, मुस्लिम सुकुम्बासी बस्तीकी ४० बर्षिया जमिल बेगमले एकपटक पनि डायmलासीस गरेकी छैनन् । उनले दुवै मृगौला फेल भएको चार महिना बढी भएपनि आफ्नै दाजु रहमद खाँले बनाउने गरेको जडिबुटी खाएर बस्ने गरेकी छन् ।

ग्याष्ट्रिक, रगत बढ्ने, खानामा रुची हुने, बान्ता भएमा रोकथाम हुने औषधी नै प्रयोग गर्न बाध्य भएको बताईन् । डायलासिस निशुल्क गरिएपनि महङ्गो औषधी किन्नुपर्ने भएकाले दुई महिना यता नियमित जडिबुटी नै सेवन गरेकी बेगमजस्तै अर्को एक बिरामी समेत अस्पतालसम्म पुग्न सेका छैनन् ।

मृगौला खरावी भएपनि अझै उपचारबाट बन्चित भएका दुई जना बिरामी म्याग्दीमै छन् । त्यस्तै बेनी अस्पतालमा समेत ७ जनाले डायलासीस सेवाका लागि निवेदन दिएका छन् । एकपटक निशुल्क डायलासीस गर्दा समेत बिरामीले यातयात लगायतका खर्चमा करिब ७ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

Leave a Reply