बेनीबजारमा हुने हरेक रक्तदान कार्यक्रममा स्वयं अग्रसर हुने र पहल गर्ने काम गर्छन् सुरत केसी । हरेक दिनजसो नेपाल रेडक्रस सोसाईटी मार्फत बेनी अस्पताल भित्र सञ्चालित रक्तसंचार केन्द्रबाट आवश्यक पर्ने रगतका लागी फोन घुमाउने, रगत अभावका कारण छटपटाइरहेका बिरामीलाई आवश्यक पर्ने रगत जुटाउने गरेका केसीले रक्तदानमा सहभागी हुन सबैलाई प्रेरणा दिन्छन् ।

उनको पहलमा धेरैले रक्तदान कार्यक्रममा सहभागी हुने अवसर पाएका छन् । विहान देखि मध्यरातसम्म रगतको आवश्यक परेमा फोनमार्फत अनुरोध गर्ने केसीले म्याग्दीका साथै छिमेकी पर्वत जिल्लामा हुने रक्तदान कार्यक्रममा रक्तदानप्रति उत्प्रेरित गराउन र सहजीकरण गर्न निरन्तर सक्रिय छन्।

मानवीय तथा परोपकारी कार्यको सबैभन्दा सुन्दर काम रक्तदानमा सबैभन्दा पहिलो आफुँ सहभागी हुने बताउँदै घरपरिवार र शिक्षण लगायतका अन्य ब्यवसायीक कामभन्दा बढी समयर मेहनत रक्तदान अभियानमा खर्चने गरेको बताए ।

‘रक्तदानबाट सबैभन्दा ठूलो धर्म हो,‘रक्तदान गर्नेको रेकर्ड राख्न नभई आवश्यकता अनुसार गर्छु’ रक्तसञ्चार केन्द्रका संयोजक समेत रहेका केसीले भने । उनले हरेक तीन महिनामा एकपटक रक्तदान गर्ने गरेका केसीले म्याग्दीमा सबैभन्दा धेरै ५९ पटक रक्तदान गरेका छन् ।सोमबार ५९ पटक रक्तदान गरेको भन्दै सामाजिक सञ्जालमा तस्वीर राखेका केसीसँग जिल्लामा रक्तदान गर्ने सम्पूर्णको विवरण छ ।

‘जिल्लामा रक्तदान गर्नेहरूको संख्या ह्वात्तै बढेको छ,‘रक्तदानबाट धेरैको ज्यान बाचेको छ, परिवारमा खुसी फर्किएको छ’ केसीले भने । पत्रकार महासंघ म्याग्दीका निर्वतमान अध्यक्ष समेत रहेका केसीले सिकिस्त अवस्थामा आएका बिरामीलाई मध्यरातमा रक्तदान गर्दा सबैभन्दा खुसी लाग्ने बताए ।

उनले रक्तदानले रक्तदातासँगै अर्को परिवारको जीवन समेत जोगिएको बताउँदै साविकको धौलागिरी अञ्चल भित्रका चारजिल्लामा म्याग्दीमा सबैभन्दा धेरै रक्तदान कार्यक्रम हुने गरको बताए । जिल्लामा रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनि नभएको करिव एकदशक भइसकेको छ ।

ग्रामिण क्षेत्रमा तत्कालै सुत्केरी महिलालाई रक्तदानको सुविधा नभएकाले रगत अभावमा नै मुत्यु हुने गरेका फाटफुट घटना बाहेक सदरमुकाम बेनीमा समस्या छैन् ।

रक्तदानसम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न नपाएको अवस्थामा अभियान्ता केसीले पहल गर्ने गरेका छन् । ‘रक्तदान गर्ने सबैको तस्वीर सामाजिक सञ्जालमा हाल्छु,‘यसले अरुलाई पनि रक्तदानमा गर्ने वातावरण बनाइरहेको छ’ केसीले भने ।

उनको प्रयासमा १० पटकभन्दा धेरै रक्तदान गर्नेलाई सम्मान समेत गर्ने गरिएको छ । केसीलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखालेस्थापना दिवसका अवसरमा सम्मान गरेको थियो । २०५३ सालमा काठमाण्डौमा आयोजित कार्यक्रममा पहिलोपटक रक्तदान गरेका थिए ।

जिल्लामा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेपछि डेढसय पिन्ट जिल्ला बाहिर पठाउने गरिएको छ ।जिल्लामा स्वयंसेवी रक्तदाता समाज समेत गठनमा केसीले पहल गरेका थिए । समाजले जिल्लामा रक्तदातालाई सक्रिय बनाउन समाजले विभिन्न कार्यक्रम गर्ने गरेको छ । एक ब्यक्ति एक रुपैयाँ अभियान अन्र्तरगत रचनात्मक कार्यक्रम भइरहेको छ ।

Leave a Reply