---Advertisement---

म्याग्दीमा यसरी हुदैंछ प्रश्न पत्र र उत्तर पुस्तिका सुरक्षा

On: March 19, 2020 10:43 AM
Follow Us:

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सावधानी अपनाउन यस वर्षको माध्यकिक शिक्षा परिषद् (एसईई) स्थगित भएपछि विद्यार्थी घर फर्किएका छन् । जिल्लाका ९ वटा केन्द्रमा सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएपछि अन्तिम समयमा स्थगित भएपछि उत्तर पुस्तिका र प्रश्न पत्रको कसरी सुरक्षा गर्ने भन्ने विषयमा चर्चा भइरहेको अवस्थामा म्याग्दीमा भने आवश्यक तयारी गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बेनीअनलाइनसँग गरेको कुराकानीमा सदरमुकाम बाहिरका प्रश्न पत्र र उत्तरपुस्तिकाको सुरक्षाका लागी राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त गरेको निर्देशनका आधारमा अगाडी बढेको बताए ।

‘तत्काल प्रश्न र उत्तरपुस्तिकालाई प्रहरीकै निगरानीमा राखिन्छ,‘दुईवटा चाबी लगाइएको छ’ थापाले भने । उनका अनुसार एक केन्द्राध्यक्ष र अर्को प्रहरीले चाबी लगाएर बाकसमा राखेको बताउँदै आवश्यकता अनुसार प्रश्न र उत्तरपुस्तिका राखिएको स्थानको निरिक्षण समेत गरिने बताए ।

उनले प्रहरीको उच्च निगरानीमा रहेकाले परीक्षा केन्द्राध्यक्ष, स्थानीय तहका शिक्षाका प्रतिनिधिले आवश्यकता अनुसार निगरानी तथा अनुगमन समेत गर्ने बताए । म्याग्दी जिल्लाबाट २१ सय ९७ विद्यार्थी सहभागी हुनेमा छात्रा ११ सय १० र छात्र १ हजार ८७ जना र ग्रेड बृद्धि १७ जना र खुल्ला विद्यालयतर्फ १६ जना परीक्षार्थी छन् ।

बेनी नगरपालिकामा ४ वटा केन्द्र र पाँचवटा गाउँपालिकामा एक–एक परीक्षा केन्द्र छन् । बेनीबजार भित्रका केन्द्रका प्रश्नपत्र, उत्तरपुस्तिका जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने अन्य केन्द्रमा नजिकको प्रहरीचौकीहरूमा राखिएको छ । यसैबीच परीक्षा केन्द्रको नजिक बसेका विद्यार्थी बुधबार साँझ देखिनै घर फर्किन सुरु गरेका छन् । यता हरेक केन्द्रमा विद्यार्थीको अनुपात अनुसार जनशक्ति खटाइएको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।