बालविवाह, लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्यासमा सामुहिक सक्रियता आवश्यक रहेको बिहिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् ।

बलविवाह, हिंसा, पम्परागत रुपमा मान्ने गलत अभ्यासले परिवार तथा समाजमा आर्थिक, समाजिक, मनोवैज्ञानिक, संवेगात्मक रुपमा नकारात्मक असर पार्ने भन्दै समुदायलाई सुरक्षित बनाउन सरोकारवाला निकायको सामुहिक प्रतिबद्धता आवश्यक रहेको बताइएको थियो । सिविन नेपाल म्याग्दीले म्याग्दीका पत्रकारहरुसँग गरेको कार्यक्रममा बेनी नगरपालिका क्षेत्रमा बालविवाह न्युनीकरण, परम्परागत कुप्रथाका विरुद्ध सचेतनाको अभियान प्रभावकारी देखिएको कार्यक्रम संयोजक वसन्त ढुङ्गानाले बताए ।उनले बेनी नगरपालिका भित्रका गतिविधिले छिमेकी गाउँपालिकामा समेत यूवाहरुको सक्रियता बढेको बताउँदै परियोजनाको अवधिमा सिकेका गतिविधिलाई निरन्तरता दिने गरी योजना बनाइरहेको बताए ।‘परियोजनाले बाटो देखाउने मात्रै हो,‘हरेक पक्षसँग सहकार्य गरी अगाडी बढ्ने योजनाहरु बनाइरहेका छौ’ संयोजक ढुंगानाले भने । उनले धार्मिक गुरुहरुलाई एकैठाउँमा राखेर पैरबी सम्बन्धि तालिम दिने, नागरिक समाज, जनप्रतिनिधिहरुलाई समेत अभियानमा जोड्न सफल भएको बताए ।

बेनीमा पहिलोपटक विभिन्न धर्मसँग जोडिएका धर्म गुरुहरुलाई एकै ठाउँमा भेला गरी नियमित कार्यक्रम गर्दा आफ्नो धर्मभित्रका गलत संस्कारलाई तोड्न सहज भएको बताइएको थियो ।हिन्दु, क्रिचियन, बुद्ध र मुस्लिम समुदायभित्र रहेका बालबालिका, महिला सम्बन्धि गलत मान्यतालाई विस्तारै तोड्ने गरी सामुहिक प्रतिबद्धता समेत प्राप्त हुनु सिविनको सबैभन्दा ठूलो सफलता भएको संयोजक ढुंगानाको भनाई छ ।छलफलमा सिविनले यूवा सञ्जाललाई सक्रिय बनाउँदा जिल्लामा बालविवाह समेत रोक्न सफल भएको बताउँदै यूवाहरुको सक्रितालाई जिल्लाका सबै स्थानीय तहसम्म विस्तार गर्न सकिने सिविनका सहजकर्ता एवम् नेपाल राष्ट्रिय यूवा परिषद् म्याग्दीका संयोजक छवि आचार्यले बताए । उनले सिविनसँग सहकार्य गरी परिषद्ले गरेका गतिविधिले बालविवाह, छुवाछूत, दाइजो प्रथा, घरेलु हिंसा, लैंगिक विभेद, हानिकारक परम्परागत प्रथालाई निरुत्साहित गर्न सहज भएको बताए ।

विगत ४ वर्षदेखि प्लान इन्टरनेशनल नेपालको सहकार्यमा म्याग्दीमा क्रियाशिल संस्थाले नेपाल प्रहरीसँग समेत सहकार्य गरी कार्यक्रमहरु गर्ने गरेको सहजकर्ता रञ्जना श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा सहित विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । ठाकुर सुबेदी

Leave a Reply