कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि सदरमुकाम बेनीको एक निजी विद्यालयको भवनलाई आइसोलेसन अस्पतालका रुपमा संचालन गरिने भएको छ। बेनी नगरपालिका–८ हिलसाईडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेको १० वटा कोठामा बेनी अस्पतालले आइसोलेसन बनाउने भएको हो ।

विद्यालयले सामाजिक उत्तरदाहित्व अन्तरगत हाल खाली अवस्थामा रहेको ३३ वटा कोठा भएको भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्ने दिने निर्णय गरेको विद्यालयका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

पर्खाल लगाइएको अवस्थामा सुरक्षित रहेको भवनमा शौचालय, खानेपानी लगायतको सुविधा रहेको छ । १० वटा कोठामा कम्तिमा ३० देखि ४० जनासम्म विरामीलाई राख्ने क्षमता भएपनि तत्कालभवनलाई मर्मत सम्भार र रङरोगन गरी पाँचकोठामा १० बेड राखिने छ ।

बेनी नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी,शस्त्र प्रहरी,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधिहरु सम्मिलित वैठकको निर्णयले म्याग्दी तथा आसपासका क्षेत्रका बिरामीलाई लक्षित गरी छुट्टै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताउनुभयो । आइसोलेसन अस्पतालमा प्रवेश गर्नेलाई समेत कडा निगरानीमा राखिने छ ।

दैविक प्रकोप उद्वार समिति व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाभित्र भित्रिने यात्रुलाई चेकजाँच सहित आवश्यक परेमा स्थानमा हेल्थ डेस्क समेत राख्नुपर्ने बताउनुभयो।

माउण्ट एभरेष्ट आवासीय माविको मुख्य विद्यालयको भवन महारानी थानमा रहेको छ भने शिक्षा मार्ग, हुलाक चोकमा समेत विद्यालयको भवन सहित पठनपाठन हुने गरेको छ । विद्यालयले भवन उपलब्ध गराएपछि आइसोलेसन अस्पतालको समस्या समाधान भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो।

Leave a Reply