पर्वतको जलजला गाउँकार्यपालिकाले कोभिड–१९ (कोरोना भाइरस)को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ।  शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए।

‘नागरिकको पहिलो अधिकार बाँच्न पाउने अधिकार हुन्छ। सो भाइरसको आशंका देखिएमा एम्बुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौँ,’ उनले भने।गाउँपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आह्वान समेत गरेको छ।

गाउँपालिकाले  स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपाय अवलम्बन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको छ ।

त्यसैगरी गाउँपालिकाको शनिबारकै सम्पन्न बैठकले आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमा आयोजना गर्न लागिएको विराट ज्ञान महायज्ञलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ।

Leave a Reply