विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि म्याग्दीमा यातायातका साधन बन्द देखि स्थानीय तहमा चेकपोष्ट स्थापना गर्ने निर्णय भएको छ।

सोमबार दिउँसो जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय भेलामा सहभागीले बेनी नगरपालिका–१ रत्नेचौर, बेनपा–८ कालिपुल बसर्पाक, वडा नं ९ तोरीपानी, रघुगंगा गाउँपालिका–३ मौवाफाँट, अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना, वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी, मंगला गाउँपालिका-२ बावियाचौर, मालिका गाउँपालिका–६ दरबाङ र धवलागिरी गाउँपालिकाको ताकम र मुनाको सिमानामा एकिकृत चेकपोष्ट स्थापना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडामा विदेश तथा कोरोना प्रभावित देशबाट आएकाको बिवरण संकलन गरी जिल्लामा पठाउने, होम क्वाराइन्टाइनमा राख्ने ब्यवस्था मिलाउने र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले समेत निगरानी राख्ने जिल्लामा आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिले लकडाउन गर्ने, त्यसमा सरोकारावाला निकायले समेत सहयोग गर्ने, जिल्लामा अत्यावेशक साम्रागीहरुको आपूर्ती ब्यवस्थाको अभिलेख राख्ने र वितरण गरिने छ ।

त्यस्तै सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्टमा १० बेडको क्वाराईटान बनाउने र आवश्यकता अनुसार न्यू वेष्ट पोइन्ट आवासीय माविको भवनलाई समेत प्रयोग गर्ने, जिल्लाको सदरमुकाम बेनीबाट छोटो दुरीमा ग्रामिण क्षेत्रसम्म सञ्चालन हुने सवारीसाधनलाई सोमबार राती १० बजेदेखि रोक्ने, अत्यावसेक बाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गर्न उद्योग वाणिज्य संघमार्फत जानकारी गराउने र दैनिक उपभोग्य बस्तुहरु बिक्री गर्ने पसलहरु विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

बैठकमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा, गण्डकी प्रदेशका सांसद विनोद केसी, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी,अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर पुन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सर्वपक्षीय निर्णयको कार्यान्वयनका लागि नियमित अनुगमन सहित ग्रामिण सडकहरुमा प्रहरी सहितको टोलीलाई समेत परिचालन गरिने जनाइएको छ ।

Leave a Reply